मनिषा चम्लागाईँ
मंगलबार, माघ २२, २०७५
749

झापाको बिर्तामोडमा सञ्चालित बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव अवलोकन गर्न आउने दर्शकको आकर्षणमा कार र मोटरसाइकल पर्ने गरेका छन् । प्रवेशद्वार नजिकै २३ वटा स्टलमा राखिएका विभिन्न कम्पनी, मोडल, आकार र साइजका कार र मोटरसाइकलप्रति अवलोकनकर्ताको आकर्षण बढेको हो ।
महोत्सवको अवसरमा कम्पनीहरूले छुटको व्यवस्था गरेपछि कारका पारखीहरू उत्साहित बनेको आयोजक बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई बताउँछन् । अहिलेसम्ममा २७ करोडको सवारी साधन कारोबार भएको मेची अट्टो मोबाइल एसोसिएसन मेची अञ्चल सदस्य सजेश शिवाकोटीले बताए । महोत्सवमा महेन्द्रा कम्पनीका सात वटा कार बिक्री भइसकेका छन् । १७ वटा बुकिङ भएका छन् । ती कार २० लाखदेखि ५३ लाख रूपैयाँ बराबरका हुन् । टाटा कम्पनीको एउटा कार बिक्री भएको छ भने तीन वटा बुकिङ भएका छन् । टाटा कारको मूल्य ४० लाख रूपैयाँ माथि रहेको शिवाकोटी बताउँछन् ।

महोत्सवमा ७२ लाख रूपैयाँ बढीको एउटा टोइटा रक्स कम्पनीको कार बिक्री भएको छ । ४० लाख रूपैयाँ बराबरको फोर्ड कम्पनीको इको स्पोर्ट बिक्री भइसकेको आयोजक समितिका महासचिव प्रशान्तराज भण्डारीले बताए । इस्जियु कम्पनीको एक वटा पिकअप बिक्री भइसकेको भण्डारी बताउँछन् । एमजी कम्पनीको तीन वटा कार बुकिङ भएको बिक्रेता गौरव शाक्यले बताए ।
महोत्सवमा सोमालिका र हुण्डाई ब्राण्डले मात्र ८ करोड रूपैयाँ बराबरको कारोबार गरेको छ । सोमालिकाका १२ लाख रूपैयाँ बढीका सात वटा ट्याक्टर बिक्री भइसकेका छन् भने चार वटा बुकिङ भएका छन् । केस कम्पनीको ४३ लाख रूपैयाँ बढी मूल्यका चार वटा भ्याकुलोडर बिक्री भएका छन् । केस कम्पनीकै १ करोड ४० लाख रूपैयाँ बराबरको एउटा मोडर ग्रेडर बिक्री भएको आएएआरए ट्रेड अट्टो प्रालि बिर्तामोडका सञ्चालक राजेन्द्र थापाले बताए । मोडर ग्रेडर कम्पनीको १ करोड ४५ लाख मूल्य बराबरको इस्काभेटर बिक्री भएको थापा बताउँछन् । पोल कम्पनीका दुई वटा कार बुकिङ भएका छन् ।
महोत्सवमा यामाहा कम्पनीका ७ वटा मोटरसाइकल बिक्री भएका छन् । टिडीयसका ५ वटा मोटरसाइकल बिक्री भएका छन् । बजाज कम्पनीका ९ वटा, सुजुकीका ५ वटा, महेन्द्रा टुविलरका ४ वटा मोटरसाइकल बिक्री भइसकेका छन् । मोटरसाइकल र कार बढी बिक्री भएको आयोजकले जनाएको छ ।
नेपालमा अहिलेसम्मनै महोत्सवमा सबैभन्दा बढी सवारीसाधनको कारोबार गर्न बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा सफल भएको महोत्सव संयोजक प्रकाश शिवाकोटीले दाबी गरे । महोत्सव अझै केही दिन हुने भएकाले कारोबार अझै बढ्ने आशा व्यवसायीको छ ।
आयोजकले ४० करोड रूपैयाँ बराबरको सवारीसाधनको कारोबार गर्ने लक्ष्य राखेको छ । महोत्सवमा नै गाडीको कारोबार ठूलो मात्रमा भएको महोत्सव प्रवक्ता सञ्जिव घिमिरेको भनाइ छ । गाडी किन्न धनकुटा, भोजपुर, उदयपुरदेखिका ग्राहक महोत्सव स्थलसम्म आउने गरेका छन् । पूर्वी जिल्ला इलाम, पाँचथर, ताप्लेजुङमा गाडीको सोरुम नभएकाले ग्राहकको रोजाइ महोत्सवका कार परेको घिमिरे बताउँछन् । महोत्सवको ७० हजार दर्शकले अवलोकन गरेका छन् ।

जियोमेटको सेवा
महोत्सवस्थलमा टेलिमेटिक्स टेक प्रालिले पनि सुविधा दिँदै आएको छ । प्रालिले जियोमेट ट्रयाकिङ सिस्टमका बारेमा परामर्श दिँदै आएको हो । आफ्नो सवारीसाधन र यात्रुका बारेमा इन्टरनेटमार्फत स्थिति पत्ता लगाउने अत्याधुनिक उक्त प्रविधिका विषयमा परामर्श लिने र खरिद गर्नेको संख्या बढेको छ ।
महोत्सवबाट ९ वटा संस्थाले डिभाइस जडान गरेका छन् । स्टलबाटै ७० संघसंस्थाले बुकिङ गरिसकेका छन् । जियोमेट ट्रयाकिङ सिस्टमबाट सवारीसाधनको अवस्था र गतिको बारेमा जानकारी लिन सकिन्छ । डिभाइस मोबाइलमा हेर्न मिल्छ । सप्लायर्स इन्टरनेसनल प्रालिले झापाको बिर्तामोडमा शाखा सञ्चालनमा ल्याएको उक्त प्रविधि झापाका स्थानीय तह, बैंक, विद्यालयले उक्त प्रविधि सवारीसाधनमा जडान गरिरहेको प्रालिका म्यानेजर सागर रिजालले जानकारी दिए । चार महिना अघिदेखि मेची र कोसीलाई कार्यक्षेत्र बनाएर बिर्तामोडबाट काम सुरु गरिरहेको छ । पूर्वका ५० बढी संघसंस्था र झापाका पाँच वटा स्थानीय तहका सवारीसाधनमा उक्त डिभाइस जडान गरिएको छ ।