कारोबार संवाददाता
मंगलबार, कार्तिक २०, २०७५
852

जर्मन गाडी तथा मोटरसाइकल उत्पादक कम्पनी बिएमडब्लू मोटोराडले भारतीय बजारलाई लक्षित गर्दै टीभीएस मोटरसँगको सहकार्यमा मोटरसाइकल उत्पादन थालेको छ । भारतमा उत्पादित उक्त मोटरसाइकल नेपाली बजारमा आउने निश्चित भएको छ । भारतमा उत्पादित बिएमडब्लूका मोटरसाइकल टर्बो मोटरले नेपाली बजारमा ल्याउने तय भएको हो ।
बिएमडब्लूका मोटरसाइकल नेपाल ल्याउन ठूला व्यावसायिक घराना लागिपरेका थिए । तर, सबैलाई पछि पार्दै पञ्चकन्या समूह अन्तर्गतको टर्बो मोटरले बिएमडब्लूका मोटरसाइकल नेपाली बजारमा ल्याउने पक्का भएको हो । सुरुमा कम्पनीले भारतमा उत्पादन र बिक्री हुँदै आएको जी ३१० जीएस र जी ३१० आर दुई मोडल ल्याउने जनाएको छ ।

बिएमडब्लू जी–३१० जीएसमा ३१३ सीसीको इन्जिन छ । सिंगल सिलिन्डर, लिक्विड–कूल, फ्यूल इन्जेक्सन इञ्जिनले ३४ बीएचपी पावर र २८ एनएम–टर्क जेनेरेट गर्छ । यस मोटरसाइकलमा ६ स्पीड गियरबक्स जडान गरिएको छ । उक्त एडभेञ्चर मोडलले भारतमा राम्रो पर्फर्मेन्स देखाइरहेको दाबी कम्पनीले गरेको छ । जी–३१० जीएसको अधिकतम स्पीड १ सय ४३ किलोमिटर प्रतिघन्टा रहेको छ ।
त्यस्तै जी–३१० जीएसमा फोर–पिस्टन क्यालिपर–३०० एमएम फ्रन्ट–डिस्कब्रेक र पछाडि सिंगल पिस्टन क्यालिपर–२ सय ४० एमएम डिस्क ब्रेक रहेको छ । कम्पनीले यसमा ड्यूल च्यानल एबीएस सिस्टमसहितको स्ट्यान्डर्ड प्याकेज दिएको छ । जी–३१० जीएसको अगाडि भागमा ४१ एमएम अपसाइड डाउन–फर्क दिइएको छ भने पछाडि भागमा १ सय ८० एमएम प्रि–लोडेड एड्जस्टेवल मोनोसक राखिएको छ ।
बिएमडब्लूका मोटरसाइकल नेपाली बजारमा डिसेम्बर अन्त्यसम्ममा बिक्री सुरु हुने अनुमान गरिएको छ । प्रिमियम मोटरसाइकल निर्माता बिएमडब्लूका मोटरसाइकलको मूल्य उच्च हुन्छ । तर, भारतमा टीभीएस मोटरसाइकलसंगको सहकार्यमा निर्माण भएकाले बीएडब्लूको मोटरसाइकल केही सस्तो मूल्यमा आउने अनुमान गरिएको छ ।