कारोबार संवाददाता
मंगलबार, आश्विन ३०, २०७५
1617

 चाडपर्वको समयमा नयाँ सामान गरिद गर्ने परम्परा हिन्दू संस्कारमा रहिआएको छ । अन्य सामानजस्तै सवारीसाधन पनि चाडपर्वको समयमा धेरै बिक्री हुने गरेको छ ।
यस्तो परम्परा भारत तथा नेपालमा रहिआएको छ । यो समयमा कस्तो सवारी किन्दा उपयुक्त हुन्छ भन्ने बारेमा उपभोक्ताहरु केही दुविधामा पर्ने गरेका छन् । यहाँ भारतीय बजारमा चार लाख भारुभन्दा कम मूल्यमा पाइने कारको बारेमा चर्चा गरिएको छ । यी कारहरु नेपाली बजारमा समेत उपलब्ध रहेका छन् । इन्ट्रिलेवल कारका रुपमा समेत चिनिने यी कार देख्दा आकर्षक र माइलेज समेत राम्रो दिने दाबी कम्पनीको छ ।

हुन्डाईको नयाँ सेन्ट्रो
हुन्डाईले भारतीय बजारमा निक्कै लोकप्रिय कार सेन्ट्रोको उत्पादन २०१४ मा बन्द ग¥यो । उक्त कार अहिले पनि राम्रो रिसेल भ्यालू भएको कारमा पर्छ । त्यसको केही वर्षपछि हुन्डाईले भारतमा सेन्ट्रोको नयाँ भर्सन यही अक्टोबर २३ मा सार्वजनिक गर्दैछ । ४ लाख भारुभन्दा कम मूल्यमा कार खरिद गर्नेहरुका लागि यो उपयुक्त विकल्प हुन सक्छ । तर हालसम्म हुन्डाईले नयाँ सेन्ट्रोको मूल्य भने सार्वजनिक गरेको छैन । भारतीय संचार माध्यमहरुले नयाँ सेन्ट्रोको सुरुवाती मूल्य ३ लाख ८७ हजार हुने अनुमान गरेका छन् । यो कार खरिदका लागि अब एक साता कुर्नुपर्छ । हुन्डाई नयाँ सेन्ट्रो भारतमा सार्वजनिक भएको एक–डेढ महिनामा नेपाली बजारमा ल्याउने लक्ष्मी इन्टरकन्टिनेन्टलले जनाएको छ ।

डाट्सन गो फेसलिफ्ट
डाट्सनले आफ्नो चर्चित ह्याचब्याक कार गोको फेसलिफ्ट भर्सन हालै भारतीय बजारमा सार्वजनिक गरेको हो । यो कारको सुरुवाती मूल्य ३ लाख २९ हजार भारु रहेको छ । गोको फेसलिफ्ट भर्सनमा इन्टेरियर तथा एक्सटेरियरमा निक्कै परिमार्जन गरिनुका साथै सुरक्षा विशेषतासमेत थप गरिएको कम्पनीको भनाइ छ । यो कारले प्रतिलिटर २० किलोमिटर माइलेज दिने दाबी कम्पनीको छ ।

टाटा टियागो
टाटा मोटर्सको टियागो निक्कै आकर्षक छ इन्टेरियर तथा एक्सटेरियर दुवै हिसाबमा । यो कारमा भएको विशेषता र आकारका कारण यो कार सेगमेन्टकै उत्कृष्ट रहेको छ । टियागोमा १.२ लिटर इन्जिन रहेको छ, जसले ८५ एचपी पावर दिन्छ । टाटा टियागोको सुरुवाती मूल्य ३ लाख २६ हजार भारु रहेको छ । यो कारले प्रतिलिटर २३.८४ किलोमटिर माइलेज दिन्छ ।

मारुती अल्टो
मारुती सुजुकीको सबैभन्दा चर्चित कार हो अल्टो । भारतमा मारुती सुजुकीको धेरै बिक्री हुने कारमध्येमा अल्टोसमेत पर्दछ । यो कारले प्रतिलिटर २४.७ किलोमिटर माइलेज दिने दाबी कम्पनीको छ । अल्टोको सुरुवाती मूल्य २ लाख ५१ हजार भारु रहेको छ ।

रेनो क्वीड
रेनोको क्वीडले यो सेगमेन्टका अन्य कारलाई निक्कै प्रतिस्पर्धी बनाएको छ । बाहिरबाट देख्दा केही सानो देखिने भए पनि क्वीडमा भरपुर स्पेस रहेको छ । यो कारले प्रतिलिटर २५ किलोमिटर माइलेज दिने दाबी कम्पनीको छ । रेनो क्वीडको भारतीय बजारमा सुरुवाती मूल्य २ लाख ६८ हजार भारु रहेको छ ।