कारोबार संवाददाता
मंगलबार, आश्विन ३०, २०७५
665

उपभोक्ता र विक्रेता दुवैले सामान खरिद गर्नका लागि उपयुक्त समयको खोजी गरिरहेका हुन्छन् । एउटा त्यस्तो समय हुन्छ, जुन बेला उपभोक्ता पनि सामान खरिद गर्ने मुडमा हुन्छन् भने विक्रेताहरू उक्त अवसरमा जति सक्दो धेरै बिक्री गर्न चाहन्छन् ।
नेपाली बजारमा त्यस्तो समय भनेको दसैंतिहारको समय हो । यो समयमा सवारी विक्रेताहरूले उपभोक्ताहरूलाई आकर्षित गर्न विभिन्न अफर तथा छुटका योजनाहरू सार्वजनिक गर्दै आएका छन् ।
सबैजसो सवारी विक्रेता कम्पनीले दसैं, तिहार तथा छठ पर्वलक्षित बिक्री योजना सार्वजनिक गरिसकेका छन् । वर्षभर बिक्री हुने सवारीको करिब ४० प्रतिशत यही चाडपर्वको सिजनमा हुने गरेको व्यवसायीहरूको भनाइ छ । सवारीसाधन व्यवसायीलाई दसैंतिहार नाडा अटो शोदेखि नै लाग्ने गरेको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले हरेक वर्ष दसैं सुरु हुनु एक महिना अघिदेखि सवारीसाधनको प्रदर्शनी गर्ने गरेको छ ।
त्यही बेलादेखि सवारी बिक्रीमा विभिन्न स्किमहरू सुरु हुन्छ । सवारी विक्रेताले दसैं, तिहारलक्षित गर्दै नगद छुट, बीमा, स्क्रयाच कार्ड जस्ता आकर्षक बिक्री अफर ल्याएका छन् । यहाँ नेपाली बजारमा उपलब्ध चारपांग्रे तथा दुईपांग्रे सवारी विक्रेताहरूले सवारी खरिदमा ल्याएका छुट तथा उपहार योजनाको बारेमा उल्लेख गरिएको छ ।

हुन्डाई
हुन्डाईको लागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले विगतका वर्षजस्तै यसपटक पनिे दसैंतिहार अफर सार्वजनिक गरिसकेको छ । कम्पनीले नियमित दिँदै आएको एक लाख २० हजार नगद छुटसहित अहिले थप २५ हजारदेखि एक लाख रुपैयाँसम्मको स्क्रयााच कार्ड, लक्की ड्रमार्फत् एक सय जनालाई १० ग्राम सुन, एक जनालाई क्रेटा कार र एक जनालाई आइट्वान्टी एक्टिभ कारसमेत प्रदान गर्ने योजना ल्याएको छ । यसैगरी, एक वर्षसम्मको पूर्णबीमा, एक वर्षको सडक कर, चार वर्षसम्म फ्रि सर्भिस र तीन वर्षसम्म इन्जिनको वारेन्टी अफर दिने कम्पनीले जनाएको छ । नेपालमा हुन्डाईका १८ लाख ९६ हजारदेखि एक करोड २३ लाख रुपैयाँसम्मका गाडी उपलब्ध छन् ।

सुजुकी
मारुती सुजुकी गाडीका लागि नेपालको आधिकारिक विक्रेता सीजी मोटोकर्पले दसैंतिहार लक्षित गरी न्यूनतम ४५ हजारदेखि २ लाख रुपैयाँसम्म नगद छुट र स्क्रयाच कार्डमा पनि १० हजारदेखि एक लाख रुपैयाँसम्म पाउन सक्ने अफर सार्वजनिक गरेको छ । पुराना गाडी एक्स्चेन्जमा पनि थप एक लाखसम्म नगद पुरस्कार पाउन सक्ने आकर्षक अफर ल्याएको छ । एक वर्षको सडक कर, ४ देखि ८ पटकसम्मको फ्रि सर्भिस, ४ वर्षसम्म इन्जिनको वारेन्टी जस्ता अफर कम्पनीले राखेको छ । नेपालमा सुजुकीको १० लाख ८० हजार रुपैयाँदेखि ४२ लाख २९ हजार रुपैयाँसम्मका कार बिक्री हुँदै आएका छन् ।

टाटा
नेपालका लागि टाटाको आधिकारिक विक्रेता सिप्रदी टे«डिङ प्रालिले पनि दसैं–तिहार अफर सार्वजनिक गरेको छ । गाडी खरिदमा मोडल हेरेर ‘आइफोन एक्स’ देखि विभिन्न अफर सार्वजनिक गरेको कम्पनीले एक लाख रुपैयाँदेखि २ लाख रुपैयाँसम्म नगद छुट योजना ल्याइएको छ । टाटाका कार किन्दा पनि एक वर्षको बीमा, एक वर्षको सडक कर, २५ हजार रुपैयाँ बराबरको एक्सेसरिज, ४ वर्षसम्मको वारेन्टी र ४ पटकसम्मको फ्रि सर्भिस अफर रहेको छ ।

फक्सवागन
जर्मन कार फक्सवागनको नेपालका लागि आधिकारिक विक्रेता पूजा इन्टरनेशनल प्रालिले पनि दसैंतिहार लक्षित नगद छुट अफरमा प्राथमिकता दिएको छ । कम्पनीले पोलो १ हजार सीसीको २६ लाख ९५ पर्ने गाडी नगद छुटसहित २५ लाख ५० हजारमा उपलब्ध गराउने जनाएको छ । यसैगरी, कम्पनीले कम्फर्ट गाडीको मूल्यमा २९ लाख ८५ हजारबाट नगद छुटसहित २७ लाख ९० हजार रुपैयाँमा बिक्री गर्ने बताएको छ । कम्पनीले गाडी खरिदमा एक वर्षको सडक कर तिर्ने गरेको छ । त्यस्तै ७ हजार ५ सय किलोमिटर गुडेपछि एकपटक फ्रि–चेकअपको व्यवस्था पनि गरेको छ ।

डाट्सन
डाट्सन गाडीका लागि नेपालको आधिकारिक विक्रेता पायोनियर मोटोकर्पले दसैंतिहार लक्षित नगद एक लाख ४० हजारदेखि २ लाख रुपैयाँसम्म छुटको अफर ल्याएको छ । नगद अफर भने गाडी अनुसार फरक पर्नेछ । नेपालमा डाट्सनका कार १४ लाखदेखि २७ लाख ५० हजार रुपैयाँसम्ममा उपलब्ध छन् । कम्पनीले दसैंलक्षित एक वर्षको बीमा, एक वर्षको सडक कर, तीन वर्षसम्म फ्रि सर्भिस र तीन वर्षसम्मको वारेन्टी दिइने जनाएको छ ।

यामाहा
नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले दसैं र तिहार लक्षित ग्राहक योजना ल्याएको छ । ‘विजय यात्रा’ नाम दिइएको यो योजनामा यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले कम्तीमा ७ हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म नगद छुट पाउनेछन् । त्यसैगरी, हरेक साता हुने लकी ड्रमार्फत् एक जनाले ब्रान्ड न्यु यामाहा आर थ्री ३ जित्न सक्ने छन् ।

होन्डा
होन्डा मोटरसाइकल तथा स्कुटरका लागि नेपालको आधिकारिक विक्रेता स्याकर ट्रेडिङ प्रालिले दसैंतिहार तथा छठ पर्व लक्षित गरी अफर सार्वजनिक गरेको छ । कम्पनीले होन्डा मोटरसाइकल खरिदमा एक लाख ९५ हजार ९ सय रुपैयाँदेखि तीन लाख रुपैयाँसम्मका मोटरसाइकल तथा स्कुटरमा स्क्रयाच कार्ड अफर ल्याएको छ । जसमा ४ हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जित्न सकिनेछ । होन्डाले ५ वर्षसम्मका लागि १४ पटकको सर्भिस फ्रि र पाँच वर्षसम्म पार्टपुर्जा खरिदमा १० प्रतिशत छुट अफर ल्याएको छ ।

बजाज
नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक विक्रेता हंसराज हुलास चन्द एन्ड कम्पनीले दसैंतिहार तथा छठ लक्षित गर्दै उपहार योजना ल्याएको छ । कम्पनीले प्रत्येक मोटरसाइकलको खरिदमा हात खाली नहुने गरी न्यूनतम ६ हजारदेखि एक लाख रुपैयाँसम्म जित्न सक्ने योजना सार्वजनिक गरेको छ । साथै हरेक साता ‘लक्की ड्र’मार्फत् ‘पकेट फुल मनी’ योजना ल्याएको छ । जसअन्तर्गत एक मिनेटसम्म गोजीमा जति रकम हाल्न सक्छन्, त्यति नै रकम पाउनेछन् । नेपाली बजारमा बजाजका करिब एक दर्जन भेरियन्टका मोटरसाइकल उपलब्ध छन् ।

हिरो
हिरो मोटरसाइकल तथा स्कुटरको लागि नेपालको आधिकारिक विक्रेता नेपाल जनरल मार्केटिङ प्रालिले दसैंतिहार तथा छठ लागि लक्षित गरी मोटरसाइकल खरिदमा ६ हजारदेखि एक लाख रुपैयाँसम्म जित्न सकिने अफर सार्वजनिक गरेको छ । स्कुटर खरिदमा ८ हजारदेखि एक लाख रुपैयाँसम्म जित्न सकिने छ । नेपाली बजारमा हिरोको एक लाख ७१ हजार ५ सय रुपैयाँदेखि ३ लाख ७६ हजार मूल्य सम्मका मोटरसाइकल तथा स्कुटर उपलब्ध रहेका छन् ।

टिभीएस
टिभीएस मोटरसाइकल तथा स्कुटरका लागि नेपालको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले दसैंतिहार लक्षित अफरमा सबै मोटरसाइकल तथा स्कुटर खरिदमा नगद ७ हजार छुटको दिने भएको छ । यसका साथै हरेक दिन लक्की ड्रमार्फत् १० जनालाई १० हजार र एक जनालाई एक लाख रुपैयाँ अफर पनि सार्वजनिक गरेको छ । नेपाली बजारमा टिभीएसका न्यूनतम एक लाख ७५ हजार रुपैयाँदेखि ७ लाख ८० हजार रुपैयाँसम्मको २० भेरियन्टको मोटरसाइकल तथा स्कुटर उपलब्ध रहेका छन् ।

सुजुकी
सुजुकी मोटरसाइकलका लागि नेपालको आधिकारिक विक्रेता भीजी सुजुकीले दसैंतिहार तथा छठलक्षित अफर ल्याएको छ । जसअन्तर्गत सुजुकीको स्कुटर खरिदमा १० हजार नगद र मोटरसाइकल खरिदमा ८ हजार नगद छुट पाउन सकिने छ । लक्की ड्रमार्फत् जापान टुरको योजना समेत रहेको छ ।