शिक्षित युवा बढी बेरोजगार

वर्ग: रोजगार
मिति: Saturday,2nd February 2013 22:25 PM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com


काठमाडौं, २० माघ - नेपालमा अशिक्षितको तुलनामा शिक्षित युवाको बेरोजगारी दर बढी देखिएको छ । आन्तरिक बजारमा सामान्य श्रमिक र सीप सिकेका युवाको माग बढे पनि शिक्षित युवाले रोजगारी पाउन सकेका छैनन् । सरकारी निकायका अतिरिक्त वैदेशिक रोजगारमा राम्रो काम तथा आकर्षक गन्तव्य मुलुकमा मागभन्दा सयौं गुणा बढी आवेदन दिनुले नै शिक्षित बेरोजगार अवस्था देखाउँछ ।
सरकारी क्षेत्रमा एक पद संख्याबराबर ३–४ सय गुणा बढी आवेदन पर्छन् । वैदेशिक रोजगारमा पनि राम्रो काम र आकर्षक मुलुकमा ५० देखि सय गुणासम्म बढी आवदेन पर्छन् । नेपालमा राजनीतिक अस्थिरता, ऊर्जा अभाव, श्रम समस्या र बन्द–हड्ताललगायत कारणले उद्योग फस्टाउन सकेका छैनन् । सञ्चालनमा रहेको केही उद्योग पनि बन्द भइरहेका छन् । त्यसैले युवाहरूलाई वैदेशिक रोजगार र सरकारी जागिरको विकल्प छैन । यसैले माग थोरै भए पनि आवेदन धेरै पर्छन् ।
व्यवसायीका अनुसार खाडी मुलुकमा सुरक्षा, अकाउन्ट, सेल्सम्यान, सुरक्षा गार्ड, होटलगायत सर्भिस क्षेत्रमा मागभन्दा आवेदन दिने कामदारको संख्या धेरै छ । त्यहीँ निर्माण क्षेत्रमा आवेदन दिनेको संख्या नगन्य हुन्छ । चालू आवको पुससम्म मात्रै २ लाख २ सय ५ युवा बिदेसिएका छन् ।
“शिक्षित युवा बढी सर्भिस क्षेत्रमा जान खोज्छन्,” नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बलबहादुर तामाङ भन्छन्, “त्यहाँबाट माग आए धेरै गुणा आवेदन पर्छन्, तर निर्माण क्षेत्रमा मागजति पनि आवेदन आउन गाह्रो हुन्छ । शिक्षित बेरोजगारी बढ्दा यस्तो भएको हो ।”
सरकारी क्षेत्रमा लोकसेवा आयोगले लिने परीक्षामा पनि मागभन्दा सयौं गुणा बढी आवेदन पर्छन् । आयोगले भर्खरै खोलेको अप्राविधिक राजपत्रअनंकित प्रथम श्रेणी (नासु) पदमा पनि मागभन्दा २ सय १७ गुणा आवेदन परे । आयोगले मध्यमाञ्चलमा १ सय ६१ नासु पदका लागि आवेदन खोलेको थियो । यसमा करिब ३५ हजार आवेदन परेको आयोगले जनाएको छ । मध्यमाञ्चल कार्यालयबाट मात्रै २० हजारले आवेदन फारम भरेका छन् । हेटौंडा र जलेश्वर हुलाकबाट समेत गरी ३५ हजार पुगेको आयोगले जनाएको छ ।
आयोग प्रवक्ता केदार पौडेलका अनुसार पाँचै विकासक्षेत्रबाट गरी करिब ६० हजारले आवेदन दिएको अनुमान छ । “मागभन्दा कैयौं गुणा आवेदन पर्नुमा शिक्षित बेरोजगार संख्या धेरै हुनु नै हो,” उनी भन्छन्, “निजीक्षेत्र फस्टाउको छैन, विकल्पको रूपमा सरकारी निकायमात्र छ ।”
सरकारी जागिरमा स्थायित्व, वृत्तिविकास र बढी सेवा–सुविधा भएकाले युवाको आकर्षण बढेको पौडेल बताउँछन् । “पाठ्यक्रम पनि समयअनुसार परिमार्जन हुँदै आएको छ, परीक्षामा योग्य व्यक्तिलाई छनोट गर्ने निष्पक्ष प्रणाली छ, त्यही भएर मागभन्दा सयौं गुणा आवेदन पर्छन् ।”
बैंक, उद्योग, कम्पनी खुले पनि नजिकका आफन्तलाई मात्रै रोजगारी दिने प्रवृत्ति बढी छ । “नेपालमा एकमात्र निष्पक्ष तथा योग्य व्यक्तिमात्र छनोट हुने आयोगबाट मात्रै हो,” माघ १७ गते आयोग कार्यालय अनामनगरमा लाइन बसेकी नुवाकोटकी अञ्जु तामाङले भनिन्, “रोजगारीको सुरक्षा, सेवा–सुविधा र निष्पक्ष प्रतिस्पर्धाले मलाई तानेको हो ।”
नेपालमा कति बेरोजगार छन् भन्ने यकिन तथ्यांक छैन । तर, सरकारले अन्र्तराष्ट्रिय श्रम संगठन (आईएलओ) को मापदण्डभित्र रहेर सातामा १० दिन काम गर्नेलाई रोजगारका रूपमा गणना गर्छ । यसलाई आधार मान्दा २.१ प्रतिशत युवामात्र बेरोजगार देखिन्छन् ।
राष्ट्रिय श्रम प्रतिष्ठानका कार्यकारी निर्देशक तथा श्रमविज्ञ शिव शर्माले सरकारी तथ्यांक श्रम सहभागिताको संख्यामात्रै रहेको बताए । “कोही मान्छे बाख्रा चराउन वनतिर लागे पनि सरकारी संयन्त्रले त्यसलाई रोजगारमा गणना गर्छ,” उनले भने, “यसले रोजगारीको संख्या बढी देखाएको हो ।”
 


  • सम्बन्धित समाचार

प्रतिकृया

Gravatar
Bishal Rai -

sahi kura ho.
private ma afnei man6e lin6an vane government job payera corruption garera paisa kamoune ho sabpe ko chahana. ani desh kasri develop gar6 ta???
anyways keep posting economic news.
all the very best karobaar.

प्रतिकृया दिनुहोस्