हवाई मार्गबाट ६ लाख पर्यटक

वर्ग: बिजनेस
मिति: Tuesday,1st January 2013 22:24 PM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com

Nameकाठमाडौं, १७ पुस - सन् २०१२ मा करिब ६ लाख विदेशी पर्यटकले हवाई मार्ग हुँदै नेपाल भ्रमण सम्पन्न गरेका छन् । अघिल्ला वर्षहरूमा औसत २० प्रतिशतको वृद्धि देखिए पनि संख्यात्मक रूपमा गत वर्ष पर्यटक आगमन वृद्धिदर भने घटेको छ । गत वर्षको पर्यटक आगमन वृद्धिदर अघिल्लो वर्षको तुलनामा ९.८ प्रतिशत मात्रैले बढी हो ।
सन् २०११ मा ५ लाख ४४ हजार ८ सय ८५ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए । यो वर्ष भने ५ लाख ९८ हजार २ सय ४ पर्यटक हवाई मार्ग हुँदै नेपाल भ्रमणमा आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ ।
नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको आगमन दरमा उल्लेख्य वृद्धि हुन नसक्नुको मुख्य कारण पूर्वाधारको कमी रहेको पर्यटन विज्ञ तथा व्यवसायी बताउँछन् । सिजनका बेला नेपालमा होटल नपाइने तथा नेपाल आउन महँगो हवाई भाडा तिर्नुपर्ने जस्ता बाध्यता रहेकाले पर्यटक आगमनदर बढ्न नसकेको उनीहरूको भनाइ छ ।
“नेपालमा पर्यटन क्षेत्रको विकास हुन नसक्नुमा थुपै्र समस्याहरू भए पनि पछिल्लो समय नेपाल आइपुग्ने सहज माध्यम नहुनु प्रमुख हो,” होटल संघ नेपाल (हान) अध्यक्ष श्यामसुन्दरलाल कक्षपति भन्छन्, “राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सलाई बलियो नबनाएसम्म नेपालको पर्यटक आगमनदरमा उच्चवृद्धि हुन सक्ने अवस्था छैन ।” नेपालमा हवाई भाडा महँगो हुनुको साथै अन्य क्षेत्रको महँगी पनि उच्चदरमा वृद्धिले धेरै असर पारेको उनको भनाइ छ ।
बोर्डको तथ्यांकअनुसार सन् २०१२ मा दक्षिण एसियाली मुलुकहरूबाट हवाईमार्ग हुँदै १ लाख ८७ हजार ८ सय ६५ पर्यटक नेपाल भ्रमणमा आएका छन् । यो संख्या गत वर्षभन्दा १०.४ प्रतिशतले बढी हो । यी मुलुकबाट गत सन् २०११ मा १ लाख ७० हजार १ सय ४५ पर्यटक नेपाल भित्रिएका थिए । सन् २०१२ मा मध्य एसियाली मुलुकबाट १ लाख २६ हजार ९ सय ४५ पर्यटक नेपाल भित्रिएका छन् । ती मुलुकबाट गत वर्ष १ लाख १० हजार २ सय ८० पर्यटक नेपाल आएका थिए, जुन सन् २०१२ को भन्दा १५.१ प्रतिशतले कम हो ।
सन् २०१२ मा युरोपेली मुलुकबाट नेपाल भ्रमण गर्नेहरू ४.५ प्रतिशतले मात्र बढेका छन् । यो वर्ष १ लाख ६१ हजार २ सय ७९ विदेशी पर्यटक हवाई मार्ग हुँदै नेपाल भ्रमणमा आएका छन् । गत वर्ष ती मुलुकबाट १ लाख ५४ हजार २ सय ८७ विदेशी पर्यटक आएका थिए ।
आसियन मुलुक अस्ट्रेलिया र न्युजिल्यान्डबाट आउने पर्यटक संख्यामा १५.१ प्रतिशतले वृद्धि भएको छ । यो वर्ष ती मुलुकबाट २१ हजार ५ सय ८४ पर्यटक आएका छन्, जबकि गत वर्ष यो संख्या १८ हजार ७ सय ५४ थियो । यो वर्ष अमेरिकी मुलुकबाट ५२ हजार ८ सय ६७ पर्यटक नेपाल आएका छन् । गत वर्ष यो संख्या ४७ हजार ८ सय ९६ थियो ।

बेलहिया नाकाबाट ८.४ प्रतिशतले वृद्धि
भैरहवा- स्थलमार्गको बेलहिया नाका हुँदै नेपाल भ्रमण आउने विदेशी पर्यटकमध्ये भारतीयबाहेकको संख्या २०१२ मा ८.४ प्रतिशतले वृद्धि भएको छ ।
सन् २०११ मा यो नाकाबाट भित्रिनेको संख्या १ लाख ३३ हजार २ सय ८५ रहेकोमा २०१२ मा १ लाख ४४ हजार ४ सय ६८ पुगेको बेलहियास्थित अध्यागमन कार्यालयका प्रमुख यादवराज पाण्डेले जानकारी दिए ।
२०११ मा पर्यटक आगमन संख्या सन् २०१० को तुलनामा करिब ३० प्रतिशतले वृद्धि भएको थियो । २०१० मा १ लाख २ हजार १ सय २०, सन् २००९ मा ९९ हजार ८ सय ८० र सन् २००८ मा ९३ हजार ९ सय ५८ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए ।
अधिकृत पाण्डेका अनुसार गत वर्ष सबैभन्दा बढी पर्यटक श्रीलंकाबाट (५५ हजार ९ सय २) आएका छन् । थाइल्यान्डबाट ३१ हजार ८ सय १५, म्यानमारबाट २१ हजार १ सय ५८, दक्षिण कोरियाबाट ५ हजार १ सय ४३, भियतनामबाट ३ हजार ७ सय १०, चीनबाट ३ हजार १ सय ६४, जापानबाट १ हजार ८ सय ५६, अमेरिकाबाट १ हजार ७ सय ९६ र बेलायतबाट १ हजार ४ सय ६४ पर्यटक आएका छन् ।
बेलहिया हुँदै सयभन्दा बढी मुलुकका नागरिक नेपाल आउने गरेका छन् । सरकारले सन् २०१२ लाई लुम्बिनी भ्रमण वर्ष घोषणा गरेपछि यो क्षेत्रका पर्यटन व्यवसायीले २ लाख ५० हजार विदेशी पर्यटक स्थलमार्ग हँुदै आउने अनुमान गरेका थिए । “सरकार र लुम्बिनी विकास कोषको भ्रमण वर्ष समितिले भारतीय सहरमा प्रचार–प्रसार गर्न सकेनन्, जसका कारण पर्यटक आगमन ८.४ प्रतिशतमात्र वृद्धि भयो,” पर्यटन व्यवसायी तथा सिद्धार्थ एसोसिएसन अफ ट्राभल एन्ड टुरिजम (साट्टा) लुम्बिनी च्याप्टर अध्यक्ष सञ्जय बजिमयले भने ।
स्थलमार्ग हुँदै सबैभन्दा बढी विदेशी पर्यटक आउने नाका बेलहिया हो ।
 


  • सम्बन्धित समाचार

प्रतिकृया

कुनै प्रतिकृया छैन ।

प्रतिकृया दिनुहोस्