पैतृक सम्पत्तिमा पुँजीगत लाभ कर

वर्ग: विचार
मिति: Tuesday,1st January 2013 21:40 PM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com

कानुन व्यवसायको पेसा तथा परिचयका कारण सम्पर्क हुने धेरै व्यक्तिद्वारा पैतृक सम्पत्ति बिक्री गर्दा कर लाग्छ भनी सोध्ने, त्यसमा दिने जवाफमा आश्चर्य प्रकट गर्छन् । यस्तो जिज्ञासा कानुन, प्रशासन, व्यापार, शिक्षा क्षेत्रमा उच्च ज्ञान भएका तथा उच्च तहका व्यक्तिहरूले समेत राखेको पाइन्छ । यस सम्बन्धमा जिज्ञासा राख्नेहरूले पैतृक सम्पत्ति बिक्री गर्दा कर नलाग्नुपर्ने गम्भीर एवं मननीय तर्कहरूसमेत दिने गर्दछन् । नेपालमा ०५८ सालमा आयकर ऐन लागू भएपछि पुँजीगत लाभकरको व्यवस्थालाई लागू गरेको र ०६६ साउन १ देखि लागू आ.व. ०६६/०६७ को आर्थिक ऐनमार्फत प्राकृतिक व्यक्ति (मानिस) ले अचल सम्पत्ति बिक्री गर्दा समयमा मालपोत कार्यालयबाट पुँजीगत लाभ कर असुल गर्ने व्यवस्था गरिएको थियो । सायद यस प्रकारको कर लागू भएको र अभ्यास गरिएको समय लामो नभएको र यसलाई प्रस्ट्याउने कार्य नगरिएको होला, यस विषयमा यथार्थ र उचित जानकारी सर्वसाधारण जनताले प्राप्त गर्न नसकेको अवस्था छ । तसर्थ यस विषयमा जिज्ञासाहरू उठ्नु अस्वाभाविक होइन । यस विषयको कानुनी व्यवस्थाको अज्ञानता र अस्पष्टताको कारण सम्पत्ति बिक्री गर्ने लिखत पारित गर्ने क्रममा जनताले अनावश्यक रकम तिर्नुपरेको तथ्यसमेत बेलाबखतमा बाहिर आउने गरेको छ ।
पुँजीगत लाभ करको व्यवस्था आयकर ऐन, २०५८ को दफा २(द), ८९ख, अनुसूची १(३) र (४) मा गरिएको छ । यस सन्दर्भमा आयकर ऐनको परिच्छेद–८ को विशेषतः ४०, ४३, ४४ समेतका प्रावधानहरू आकर्षित हुन्छन् । मानिसले प्राप्त गरेको पैतृक सम्पत्ति के–कुन प्रकृतिबाट हक हस्तान्तरण गर्दा करयोग्य सम्पत्ति हुन्छ तथा उक्त सम्पत्तिको के–कुन मूल्यमा के–कसरी कर लाग्छ भन्ने बेहोरा प्रस्ट हुनु जरुरी छ । पैतृक सम्पत्तिको सबै प्रकारको हस्तान्तरण करयोग्य हुँदैनन् र स्वआर्जन गरिएको सम्पत्ति निश्चित प्रकारका हस्तान्तरण करयोग्य हुँदैनन् । तसर्थ कुन अवस्थाको हस्तान्तरण करयोग्य र गैरकरयोग्य हुन्छन् । कर प्रशासन, कर असुल गर्ने मालपोत कार्यालय र करदाता प्रस्ट भएमा यस सम्बन्धमा उत्पन्न समस्या निराकरण हुनेछन् ।
पुँजीगत लाभ कर व्यक्तिको अचल सम्पत्ति (घर÷जग्गा÷घरजग्गा) र धितोपत्रमा गरिएको लगानी (सेयर÷डिबेन्चर÷म्युचुअल फन्ड) सँग सम्बन्धित छ । प्राकृतिक व्यक्ति (मानिस) को निम्नानुसारको सम्पत्तिमा गैरव्यवसायिक करयोग्य सम्पत्ति (पुँजीगत लाभ कर) लाग्ने सम्पत्ति हुँदैन ।
(क)    घर÷भवन (स्वामित्व र भोग) ः अविच्छिन्न दस वर्ष वा सोभन्दा बढी स्वामित्वमा रहेको र अविच्छिन्न वा पटक–पटक गरी दस वर्ष वा सोभन्दा बढी बसोबास गरेको घर, घरजग्गा ।
(ख)    मूल्य ः जग्गा तथा भवन (मूल्यका आधारमा) ३० लाख रुपैयाँभन्दा कम मूल्यमा बिक्री गरेको जग्गा तथा निजी भवन ।
(ग)    हस्तान्तरण ः तीन पुस्ताभित्रको खरिद–बिक्रीबाहेक अन्य प्रकारले जस्तै ः अंश, अपुताली, दाइजो, पेवा, नामसारी इत्यादिबाट हक हस्तान्तरण वा प्राप्त भएको अवस्था ।
यी सम्पत्तिहरू स्वामित्व र भोग, मूल्य र हस्तान्तरण गरिने विधि गरी तीन प्रकारका कारणले पुँजीगत कर नलाग्ने व्यवस्था गरिएको छ । सम्पत्ति हस्तान्तरण र प्राप्त गर्ने व्यक्ति तीन पुस्ताभित्रको भएको र सो पुस्ताभित्र खरिद–बिक्री नगरी अन्य प्रकारबाट हस्तान्तरण भएमा पुँजीगत लाभकर नलाग्ने सम्पत्तिको वर्गमा समूहीकृत हुन जान्छ । तसर्थ सम्पत्तिहरू खरिद–बिक्री वा हस्तान्तरण गर्दा आफ्नो सम्पत्ति उक्त वर्गमा पर्छ वा पर्दैन वा तीन पुस्ताभित्र खरिद–बिक्रीबाहेक अन्य तरिकाबाट हस्तान्तरण गरिएको हो वा होइन व्यक्ति स्पष्ट हुनुपर्छ । यस्तो अवस्थाको सम्पत्ति वा हस्तान्तरण भएको अवस्थामा पुँजीगत लाभकर लाग्दैन ।
एउटा व्यक्तिले आफ्नो बाबु, आमा, पति वा अंश दिनुपर्ने दायित्व भएको व्यक्तिबाट अंशबापत सम्पत्ति प्राप्त गरेको अवस्थामा जतिसुकै मूल्यको सम्पत्ति प्राप्त गरे पनि कर लाग्दैन । त्यसैगरी सम्पत्ति दर्ता भएको व्यक्तिको मृत्यु भई निजको हकवालाले अपुताली प्राप्त गरी नामसारी गरिलिएको अवस्थामा कर लाग्दैन । माइतीतर्फबाट दाइजो वा लोग्नेको तर्फबाट पेवा वा तीन पुस्ताभित्रैबाट बकसपत्रद्वारा स्वामित्व हस्तान्तरण भएको अवस्थामा पुँजीगत लाभकर लाग्दैन । यसप्रकार अंश, अपुताली, नामसारी, दाइजो, पेवा, बकसपत्रबाट प्राप्त गरेको घर वा घरजग्गा दस वर्ष स्वामित्वमा रहेपछि जतिसुकै मूल्यमा हस्तान्तरण गरे वा जग्गाको हकमा जतिसुकै अवधिमा बिक्री गरे पनि ३० लाखभन्दा कम मूल्यमा हस्तान्तरण भएमा पुँजीगत लाभ कर लाग्दैन ।
त्यसैगरी कुनै व्यक्तिले स्वआर्जनले खरिद गरेको घरजग्गा, घर दस वर्ष वा सोभन्दा बढी अवधि निजको स्वामित्वमा रहेको र पटक–पटक वा अविच्छिन्न रूपमा दस वा सोभन्दा बढी बसोबास भएमा जतिसुकै मूल्यमा बिक्री गरे पनि त्यसमा पुँजीगत लाभकर लाग्दैन । स्वआर्जनको जग्गा जतिसुकै अवधि स्वामित्वमा रही बिक्री गर्दा ३० लाखभन्दा कम मूल्यमा बिक्री भएमा पुँजीगत लाभकरको विषय हुँदैन । व्यक्तिको स्वआर्जनको सम्पत्ति निजको मृत्युपछि हकवालाले अपुताली प्राप्त गरी नामसारी गर्दा, छोरा छोरी वा अंशियारलाई अंश दिँदा वा तीन पुस्ताभित्र बकसपत्र गरिदिँदा त्यसमा पँुजीगत कर नलाग्ने कानुनी व्यवस्था छ ।
अंश, अपुताली, दाइजो प्राप्त गरेको घरजग्गा वा घर दस वर्ष स्वामित्व अवधि हुनुअगावै बिक्री गरेमा त्यसरी सम्पत्ति प्राप्त गरेको दिनमा कायम रहेको बजार मूल्यमा पुँजीगत लाभ कर लाग्दैन । यस विधिबाट प्राप्त गरेको सम्पत्ति बिक्री गरेको दिनको बजार मूल्यमा सम्पत्ति प्राप्त गरेको दिनको बजार मूल्य घटाई बाँकी कायम हुने मूल्यमा पुँजीगत लाभ कर लाग्छ । अंश दाइजो एवं पैतृक सम्पत्तिका रूपमा प्राप्त गरेको जग्गा ३० लाख बढी मूल्यमा बिक्री गरेमा बिक्री भएको दिनको बजार मूल्यबाट सम्पत्ति प्राप्त गरेको दिनको बजार मूल्य घटाई बाँकी रकममा मात्र पुँजीगत लाभकर लाग्ने कानुनी व्यवस्था छ ।
अंश, दाइजो, पेवा वा अपुताली यस्तै प्रकारबाट हालको आयकर ऐन–२०५८ लागू हुनुअगाडि सम्पत्ति प्राप्त गरेको र आयकर ऐन लागू हुनुभन्दा पछाडि प्राप्त गरेको सम्बन्धमा बजार मूल्य कायम गर्ने सम्बन्धमा फरक प्रावधान लागू हुन्छ । मिति ०५८ चैत १९ भन्दा अगाडि प्राप्त गरेको पैतृक सम्पत्तिमा उक्त मितिमा कायम रहेको बजार मूल्यमा पुँजीगत कर लाग्दैन । आयकर ऐन लागू भएपछि मात्रै पुँजीगत लाभ कर लगाइएको हुनाले सो मितिसम्ममा कायम भएको मूल्यमा कर लाग्दैन । यो ऐन लागू भएपछि प्राप्त भएको सम्पत्तिमा प्राप्त भएको दिनको बजार मूल्यमा कर लाग्दैन ।
लिखत रजिस्ट्रेसन पास नगरी नामसारी वा अपुताली वा अन्य कुनै कानुनी अवस्था परी प्राप्त भएको सम्पत्तिको मूल्य कायम गर्ने सम्बन्धमा ऐनमा केही व्यवस्थाहरू भएका छन् । कुनै व्यक्तिको मृत्यु भई सम्पत्ति निःसर्ग (हस्तान्तरण) भएको अवस्थामा सम्पत्तिको बजार मूल्यबराबरको रकम हस्तान्तरण गर्ने व्यक्तिले प्राप्त गरेको मानिने र सम्पत्ति प्राप्त गर्ने व्यक्तिले बजार मूल्यबराबरको लागत परेको मानिन्छ । तसर्थ नामसारीबाट प्राप्त गरेको दिन बजार मूल्य लागत हुने भएकाले उक्त मूल्यमा कर लगाउन मिल्दैन ।
अचल सम्पत्ति हस्तान्तरण गर्ने सम्बन्धमा आयकर ऐनमा बजार मूल्यलाई आधार मानेको छ । मालपोत कार्यालयले रजिस्ट्रेसन पास गर्ने प्रयोजनका लागि तोकेको मूल्यलाई आधार लिई पुँजीगत लाभ कर लगाउने गरेको सुन्नमा आएको छ । बजार मूल्य र रजिस्ट्रेसन प्रयोजनका लागि तोकिएको मूल्य फरक हुने सार्वजनिक जानकारीको विषय हो । यसरी रजिस्ट्रेसनको प्रयोजनका लागि तोकिएको मूल्यका आधारमा  पुँजीगत कर लगाइएमा एकातर्फ जनताले बढी कर तिर्नुपर्ने अवस्था उत्पन्न हुन्छ भने अर्कातर्फ राज्यले प्राप्त गर्ने कर छलि हुनजाने सम्भावना पनि रहन्छ । यसप्रकारको अस्पष्ट द्विविधाजनक स्थितिमा लिखत र.पा. गर्ने कार्यालयको कर्मचारीले अनुचित फाइदा लिन सक्ने सम्भावना इन्कार गर्न सकिंदैन । तसर्थ पुँजीगत सम्पत्तिमा कर लाग्ने अवस्था र सोको वैज्ञानिक र पारदर्शी बजार मूल्य कायम गर्ने पद्धति विकास गर्नु आवश्यक भएको छ ।
पैतृक सम्पत्ति अंश, अपुताली, दाइजो वा पेवाको रूपमा प्राप्त गरेको सम्पत्ति आर्जन गरेको सम्पत्ति नभएकाले त्यस्तो सम्पत्ति हस्तान्तरण गर्दा कर नलाग्नुपर्ने भन्ने तर्क पनि दिने गरिन्छ । राज्यलाई आय वा सोही प्रकृतिको लाभ भएको अवस्थामा कर लगाउने अधिकार रहेको छ । राज्यले पैतृक सम्पत्ति निश्चित प्रकार वा निश्चित अवस्थामा हस्तान्तरण भएमा कर लगाउने कानुन बनाएको हुँदा जस्तोसुकै तर्क दिए तापनि करयोग्य अवस्थामा हस्तान्तरण भएको अवस्थामा कर तिर्नुपर्छ भन्ने बेहोरालाई नागरिकले आत्मसात् गर्नु जरुरी छ । वर्तमान आयकर ऐनले आयमा मात्र नभई लाभमा समेत कर लाग्ने व्यवस्था गरेको छ । पैतृक सम्पत्ति हस्तान्तरण गर्दा उक्त सम्पत्तिमा भएको मूल्य अभिवृद्धि (लाभ) मा कर लगाउने व्यवस्था गरेकाले कानुनले कर नलाग्ने वर्गभित्र परेको अवस्थामा बाहेक अन्य अवस्थामा पुँजीगत लाभ कर तिर्नुपर्ने हुन्छ ।  
(लेखक, अधिवक्ता हुन् ।)
 


  • सम्बन्धित समाचार

प्रतिकृया

कुनै प्रतिकृया छैन ।

प्रतिकृया दिनुहोस्