कोरियाको व्यापार बचत घट्यो

वर्ग: विश्व
मिति: Tuesday,1st January 2013 22:00 PM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com



सोल, १७ पुस - आर्थिक वर्ष २०१२ को डिसेम्बरमा दक्षिण कोरियाको व्यापार घटेको सरकारले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । नोभेम्बरको तुलनामा डिसेम्बरमा व्यापार बचत २ अर्ब ३ करोड अमेरिकी डलरले कमी आएको छ ।
डिसेम्बरमा व्यापारिक दिनहरू कम भएकाले निर्यात व्यापारमा नै कमी आएको सरकारी अधिकारीहरूले बताएका छन् ।
नोभेम्बरमा व्यापार बचत ४ अर्ब ३८ करोड डलर भएकोमा डिसेम्बरमा आइपुग्दा २ अर्ब ३ करोड डलरमा सीमित भएको त्यहाँको अर्थमन्त्रालयले जनाएको छ । यो विगत १० महिनायताकै कम भएको मन्त्रालयको भनाइ छ ।
डिसेम्बरमा निर्यात व्यापार वार्षिक रूपमा ४.४ प्रतिशतले घटेर ४५ अर्ब १० करोड डलरमात्र भएको छ । त्यस्तै आयात व्यापारमा ५.३ प्रतिशतले कमी आई ४३ अर्ब ७ करोड डलरमा सीमित भएको मन्त्रालयले उल्लेख गरेको छ । आयात तथा निर्यात व्यापार दुवै ३ महिनापछि पहिलोपटक घटेको हो ।  
२०११ को सोही अवधिको तुलनामा २०१२ मा तीन दिन बढी विदा परेकाले निर्यात व्यापारमा गिरावट आएको व्यापारीहरूको भनाइ छ । जुलाईयता कोरियाको दैनिक निर्यात व्यापार वृद्धि हुँदै आएको मन्त्रालयले जनाएको छ । डिसेम्बरमा दैनिक औसत निर्यात व्यापार २ अर्ब १० करोड डलर थियो । यो गत वर्षको सोही अवधिको तुलनामा ७.६ प्रतिशतले बढी हो ।
२०१२ को जुलाईसम्म त्यहाँको निर्यात व्यापार मासिक औसत ७ प्रतिशतले वृद्धि हुँदै आएको थियो । त्यसयता सामान्य गिरावट आएको भए पनि सन्तुलित नै भएको मन्त्रालयले जनाएको छ ।
“डिसेम्बरमा कोरियाको निर्यात व्यापार औसतमा वर्षभरिकै सकारात्मक छ,” सोलस्थित मिराइ एसेट सेक्युरिटजका अर्थविद पार्क हि–चानको भनाइ छ ।
उकोरियाको आन्तरित तथा बाह्य दुवै व्यापार आगामी दिनमा सुधार हुने उनको अपेक्षा छ ।
स्थानीय स्तरमा निर्मित सूचना प्रविधिका सामानको माग बढेको भए पनि कोरियाली अटोमोबाइलको माग भने घटेको छ । डिसेम्बरमा अटो निर्यात वार्षिक रूपमा ७ प्रतिशतले कमी आएको छ । त्यस्तै अटो पार्टस् र मेसिनको निर्यात क्रमशः २.३ प्रतिशत र ८.८ प्रतिशतले गिरावट आएको छ ।
पानी जहाज तथा स्टीलका उत्पादनको निर्यात क्रमशः ३७ प्रतिशत र २५.८ प्रतिशतले घटेको छ । तर टेलिकम्युनिकेसनका सामानको निर्यातमा ९.१ प्रतिशतले वृद्धि भएको छ । डिस्प्ले प्यानल र सेमिकन्डक्टर्सको निर्यात व्यापार पनि १२.४ प्रतिशत र ०.९ प्रतिशतले बढेको मन्त्रालयले जनाएको छ ।
गत आर्थिक वर्षमा त्यहाँको निर्यात एसियाका उदीयमान राष्ट्रहरूमा निक्कै सकारात्मक रहेको अर्थविदहरूको भनाइ छ । डिसेम्बरमा दक्षिण–पूर्वी एसियाली देशहरूमा हुने निर्यात वार्षिक रूपमा १४.१ प्रतिशतले वृद्धि भएको छ ।
कोरियाको मुख्य व्यापारिक साझेदार चीनतर्फको निर्यात २.७ प्रतिशतले बढेको छ । अमेरिका तथा युरोपतर्फ हुने निर्यात व्यापार भने क्रमशः ०.७ प्रतिशत ७.५ प्रतिशतले कमी आएको छ । विश्वव्यापी आर्थिक मन्दीका कारण विश्वका ठूला तथा विकसित राष्ट्रहरूले गर्ने आयात व्यापारमा गिरावट देखिएको छ । यसको प्रत्यक्ष मारमा निर्यातमुखी अर्थतन्त्र भएका मुलुकहरू परेका छन् ।  
समग्र वर्षभरि त्यहाँको निर्यात १.३ प्रतिशतले घटेर ५ खर्ब ४८ अर्ब २० करोड डलर भएको छ । त्यस्तै आयात पनि ०.९ प्रतिशतले कमी आई ५ खर्ब १९ अर्ब ६० करोड डलरमात्र भएको अर्थमन्त्रालयले जनाएको छ । यसको अनुपातमाा व्यापार बचत २८ अर्ब ६० करोड डलर देखिएको छ । २०११ मा व्यापार बचत ३० अर्ब ८० करोड डलर थियो ।
विश्वव्यापी आर्थिक मन्दीका बाबजुद २०११ र १२ मा त्यहाँकोे निर्यात व्यापार १० खर्ब डलर नाघेको छ । द.कोरिया इटलीलाई पछि पार्दै व्यापारमा विश्वको आठौं ठूलो मुलुक भएको छ । यसैलाई सबथोक भनी बस्न नहुने कोरियाली अधिकारीहरूले बताएका छन् । आगामी वर्ष दुई स्थानमाथि उक्लने लक्ष्य लिनु पर्ने उनीहरूको सुझाव छ ।
त्यहाँको अर्थमन्त्रालयले २०१३ मा देशको व्यापार बचत २५ अर्ब डलरभन्दा माथि हुने अनुमान गरेको छ । विश्व आर्थिक मन्दीको प्रभाव कम हँुदै गएकाले व्यापार वृद्धि हुनेमा सम्पूर्ण कोरियाली आशावादी रहेको मन्त्रालयले उल्लेख गरेको छ ।
 


  • सम्बन्धित समाचार

प्रतिकृया

कुनै प्रतिकृया छैन ।

प्रतिकृया दिनुहोस्