कालिकोटबाट विदेसिने बढे

वर्ग: रोजगार
मिति: Monday,31st December 2012 22:04 PM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com


कालिकोट, १६ पुस - गाउँघरमा रोजगारी नपाएपछि मध्यपश्चिमको कालिकोटका अधिकांश युवा वैदेशिक रोजगारीमा गएका छन् । जिल्लाको फुकोट– ५ पुछ«ेगाउँमा घरखर्च चलाउन अन्य कुनै पनि उपाय नभएपछि युवाहरू बिदेसिने लहर चलेको छ । विगतमा भारतमा जाने यस क्षेत्रका युवाहरू अहिले साउदी अरब, कतार, मलेसिया, कुवेतलगायतका मुलुकमा जाने गरेका छन् ।
फुकोट– ५ का चङ्खे महताराका भाइ र छोरा विदेशमा छन् । अन्य पेसा केही नभएपछि गाउँमा बसेर दिन बिताउनुभन्दा विदेश गएर केही कमाउनु बाध्यता नै परेको चङ्खे महताराको भनाइ छ । सोही गाउँका दाजुभाइ ऐबहादुर महतारा र राजबहादुर महतारा विगत दुई वर्षदेखि मलेसियामा काम गरिरहेका छन् ।  अहिले सो गाउँबाट ३५ जना युवा विदेश गएको स्थानीय कालीबहादुर महताराले बताए ।
पञ्च निमावि तोलिमा कक्षा ८ मा अध्ययन गर्दै आएका लालबहादुर सहकारीले कमाइका लागि विदेश जान राहदानी लिएर भिसा लगाएको बताए । उनका साथमा तीन जना साथी पढाइ छाडेर विदेशमा जाने तयारीमा छन् ।
तीनवर्ष अघि मलेसियामा गएर घर फर्किएका प्रेमबहादुर भण्डारी अहिले पुनः पढाइमा लागेका छन् । उनी अहिले कक्षा १० मा अध्ययन गर्न थालेका छन् । “जुनसुकै ठाउँमा गए पनि पढाइ चाहिने रहेछ” उनले भने । ६५ घरधुरी रहेको उक्त वडाका हरेक घरधुरीका युवा रोजगारीका लागि विदेशमा छन् । त्यसैगरी बदालकोट गाविस– ४ काडाँगाउँका वीरेन्द्र बोगटी ९ महिनाअघि मलेसिया गएका थिए ।
घरमा विदेश जाने क्रममा निकालेको ऋणको सावाँ–ब्याज तिर्न नपाउँदै कम्पनीले नेपाल जाने भनेपछि सोही गाउँका तीन जना घर फर्केका छन् । आफूमा कामअनुसार सीप नभएकाले उचित कामको उचित ज्याला नपाएको बोगटीको भनाइ छ ।
उनीहरूले विदेश जाँदा निकालेको ऋण तिर्न नसकेको अवस्थामा घर फर्किनुपरेको गुनासो पोखेका छन् । केहीले विदेशको कमाइले पारिवारिक समस्या समाधान गर्ने मात्र नभई पढाइमा खर्चिने गरेका छन् भने गाउँ छाडेर तराईतिर बसाइसराइँ गर्नेे पनि त्यत्तिकै छन् ।
ग्रामीण इलाकामा अधिकांश विद्यालयमा अध्ययनको सिलसिलामा अर्काको लहलहैमा लागेर विदेश जानेको सङ्ख्या बढ्दै गएको छ । बदालकोट–६ का वसन्त सार्की सरस्वती मावी सिकुमा अध्ययन गर्दागर्दै कक्षा १० को परीक्षा नदिएर कतार हुइँकिएका छन् । उनी आफ्नो गाउँका साथीभाइले कमाएको पैसा देखेपछि एसएलसी दिन छाडेर विदेश जाने मन गरेका हुन् ।
त्यस्तै सोही गाउँका पङ्ख सार्की उमेरले १५ पुगे पनि उमेर बढाएर विदेश गएका छन् । उनले घरमा आर्थिक कठिनाइ परेको र अन्य उपाय केही नभएपछि बाध्यताले विदेश जानुपरेको बताए ।     उनका बुबा दलसिंह सार्कीले गरिबीका कारण छोरालाई बाल्यकालमा विदेश पठाउनुपरेको बताउँदै गरिबका छोराछोरीले उच्च शिक्षा हासिल गर्न नसक्ने भएकाले देशभित्रै जागिर पनि नपाउने भएकाले विदेश जानु अनिवार्य भएको बताए ।
अहिले उमेर नपुगेका स्थानीय युवासमेत नागरिकता र राहदानीको सिफारिसका लागि गाविसमा आउने गरेको मेहलमुडी गाविसका सचिव भवनसिंह शाहीले बताए । उनका अनुसार अहिले गाउँको आम्दानीको प्रमुख स्रोत नै वैदेशिक रोजगार बन्ने गरेकोे छ । कालीकोटमा खेतबारी बिक्री गरेर विदेश जानेको लहर नै चलेको छ । विदेशको कमाइले गाउँका स्थानयीवासीले आफ्नो घरव्यवस्थामा सुधार ल्याउन सफल पनि भएका छन् ।
पछिल्लो समयमा जिल्ला प्रशासन कार्यालय कालीकोटमा राहदानी सिफारिस लिनेको सङ्ख्या बढ्दै गएको छ ।




 


  • सम्बन्धित समाचार

प्रतिकृया

कुनै प्रतिकृया छैन ।

प्रतिकृया दिनुहोस्