प्रविधिको भर

वर्ग: अर्थरंग
मिति: Thursday,6th September 2012 03:32 AM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com

Nameकुनै समय कार्यालय जाँदा हाजिरी पुस्तिकामा कलमले जनाउ चिन्ह लगाउँदै उपस्थिति जनाइन्थ्यो, अहिले त्यस्तो दृश्य देखिन छाडेको छ । ‘एटेन्डेन्स मेसिन’मा कार्यालयको कार्ड वा हातका कुनै औंला स्पर्श गराउनुभयो भने कम्युटरमा तपाईंको उपस्थिति दर्ता हुन्छ । यसले कति बजे आएको र कति बजे गएको रेकर्ड राख्छ ।
दशकयता मुलुकमा प्रविधिमाथिको सहारा बढेको छ । प्रविधिको फराकिलो दायरामा अनेकथरी सुविधा गाँसिन थालेपछि दैनन्दिन जीवनका अनेक कुरा प्रविधिमा गएर जोडिन थालेका छन् । तपाईं कार्यालय सकेर रेस्टुराँ छिर्नुभयो– खाजा खाएपछि हाते बिल होइन, कम्प्युटरबाट छापिएको बिल आउँछ । बिजुली, टेलिफोन या अन्य कुनै सरकारी कार्यालयमा महसुल÷कर तिर्न जानुभयो– खाता वा फाइल हेरेर होइन, कर्मचारीले कम्प्युटरको किबोर्डमा औंला चलाएर तिर्नुपर्ने रकम बताउँछन् ।
यी कुरा सामान्य र दैनिकीजस्ता भए पनि प्रविधिमा आएको बहुआयामिक परिवर्तनसँगै नेपाली समाज बिस्तारै अभ्यस्त हुँदैछ । यसमा सन्तोष मान्ने अर्को कारण छ– यस्ता प्रविधि स्वदेशमै उत्पादन हुँदैछन् । अत्यावश्यकीय कामकाजमा प्रयोग हुने विदेशी प्रविधिलाई क्रमशः नेपालीले विस्थापित गर्दैछन् ।
नेपाली सफ्टवेयर कम्पनीले कर्पाेरेट हाउस, निजी कार्यालय, गैरसरकारी संस्था, सरकारी कार्यालयलगायत साना–ठूला पसल, अस्पताल, क्लिनिक तथा रेस्टुराँलाई लक्षित गरी सफ्ववेयर बनाउन थालेपछि प्रयोग गर्नेहरूको संख्या पनि विस्तारै उकालो लाग्दैछ । जीवनशैली प्रविधिमा भर पर्दै गएपछि मान्छेका आवश्यकता र आकांक्षाअनुसार सफ्टवेयर निर्माण हुन थालेका छन् । सामान्य लाग्ने सफ्टवेयरले महत्वपूर्ण काम सहज बनाएका छन् भने समय र श्रमको अधिकतम बचत पनि गरिदिएका छन् ।
कमलपोखरीमा हिमाल मेडिकल हल सञ्चालन गर्दै आएका बिमल न्यौपानेले बिलिङ सफ्टवेयर चलाइरहेका छन् । “यो सफ्टवेयर प्रयोगले औषधिको मूल्यदेखि कति बिक्री भयो भन्नेसम्म सजिलै थाहा हुन्छ,” उनी भन्छन्, “औषधिको स्टक कति छ, त्यो पनि जानकारी पाइने हुँदा हामीलाई धेरै सजिलो भएको नै, साथै उपभोक्ताको पनि समय बचत भएको छ ।”
नेपाली बजारमा बढ्दो सफ्टवेयर प्रयोगले जीवनशैली सजिलोमात्र बनाएको छैन, स्वयं सफ्टवेयर कारोबारको ग्राफ पनि उकालो लागेको छ । नेपालको सूचना–प्रविधि क्षेत्रमा सबैभन्दा राम्रो बजार र सम्भावना सफ्टवेयरकै भएको निर्माता कम्पनी बताउँछन् । मोबाइल एप्लिकेसनदेखि स्वास्थ्य, शिक्षा, वित्तीयदेखि विभिन्न व्यापारिक, सरकारी कामलगायत वेबपेजसम्ममा नेपाली सफ्टवेयर कम्पनीले सेवा दिन थालेपछि यसको बजार बढेको हो ।
“अहिले नेपाली सफ्टवेयर कम्पनीको बजार धेरै बढेको छ,” कम्पयुटर एसोसिएसन अफ नेपाल (क्यान) अध्यक्ष सुरेश कर्ण भन्छन्, “लोकल र आउटसोर्सिङ कम्पनीले सफ्टवेयर निर्माण गरी घरेलु बजार र विदेशी बजारमा पु¥याइरहेका छन्, यसले नेपालको सू्चना–प्रविधिको उज्ज्वल भविष्य दर्साउँछ ।”
एकाउन्ट प्याकेजदेखि लिएर स–साना पसललाई आवश्यक पर्ने सफ्टवेयर पनि निर्माण भइरहेका छन् । कर्ण भन्छन्, “विदेशका कम्पनीका लागि नेपालमै बसेर काम गर्ने क्रम पनि बढेको छ, यसले नेपाली सफ्टवेयर र डेभलपरको आत्मविश्वास बढाएको छ ।”
हिजोआज व्यापारिक तथा सेवाक्षेत्रमा सफ्टवेयर प्रयोग गर्नेहरू धेरै छन् । सफ्टवेयर प्रयोगले काम छिटो–छरितो हुनुका साथै अन्य अपरेटिङ खर्च कम पनि हुने भएकाले फाइदा हुने कर्ण बताउँछन् । साधारण १० हजारदेखि ४० हजार तथा ठूला र सुरक्षाका दृष्टिले राम्रो मानिने सफ्टवेयर १ करोड रुपैयाँसम्म पर्ने उनले बताए ।
सफ्टवेयरको बढ्दो मागसँगै डेभलपर र नयाँ–नयाँ कम्पनी तथा रोजगारीका अवसर पनि थपिएका छन् । अहिले नेपालमा २ सयभन्दा बढी सफ्टवेयर कम्पनी रहेको कर्ण बताउँछन् । यसमा ५० भन्दा बढी आउटसोर्सिङ कम्पनी छन् । एउटा कम्पनीमा ५ देखि १० डेभलपरले काम गर्ने गरेका छन् ।
सफ्टवेयर कम्पनीले वार्षिक ४ अर्ब हाराहारीमा कारोबार गर्ने व्यवसायी बताउँछन् । २ अर्ब त आउटसोर्सिङको मात्रै हुने उनीहरूको अनुमान छ ।
नेपाली सफ्टवेयर कम्पनीले पनि अन्तर्राष्ट्रिय कम्पनीसँग टाइअप गरेर काम गर्न थालेपछि आउटसोर्सिङ बढेको उडान सफ्टवेयरका चिफ टेक्निकल अफिसर बिमलकुमार क्षेत्री बताउँछन् । “पहिले आउटसोर्सिङको काम भारतबाट मात्र हुन्थ्यो, अहिले विदेशीले नेपाली कम्पनीलाई पनि विश्वास गर्न थालेपछि आउटसोर्सिङको काम बढेको हो,” उनले भने । अस्ट्रेलियाको एक युनिभर्सिटीका लागि वेब एप्स बनाउँदै गरेका क्षेत्रीले यो क्षेत्रमा युवापुस्तालाई राम्रो करिअरको सम्भावना रहेको बताए ।
सरकारी कार्यालय, निजी÷व्यापारिक प्रयोजन तथा अन्तर्राष्ट्रिय बजारमा पहँुच बढ्दै गएपछि नेपालमा उत्पादन भएका सफ्टवेयरको बजार फराकिलो बनेको हो । सफ्टवेयर निर्माणमा अग्रणी मर्कन्टाइलले उत्पादन गर्ने पुमुरी प्लस आईभी (कम्प्युटरबेस) र ई–पुमुरी (इन्टरनेटबेस) बैकिङ सफ्टवेयर ८० प्रतिशत वित्तीय संस्थामा प्रयोग हुँदै आएको जनाएको छ । ठूला वाणिज्य बैंकले फिनाकल कोर भन्ने महँगो सफ्टवेयर प्रयोग गरे पनि अन्य केही वाणिज्य तथा विकास बैंक, फाइनान्स र सहकारीले मर्कन्टाइलका बैकिङ सफ्टवेयर प्रयोग गर्ने गरेका छन् । पुमरी, ई–सेवा, रेडिएन्ट, फिन्सिस, माइन्डमिललगायत वित्तीय क्षेत्रका लागि प्रयोग हुने नेपाली सफ्टवेयर हुन् ।
नेपालीले गर्नेसक्ने विश्वासकै कारण विदेशी कम्पनीले नेपालमा काम दिएको बारकोड नेपालका सिस्टम एनालिस्ट विशालमान सिंह बताउँछन् । “सफ्टवेयरबाट निर्माता, प्रयोगकर्ता र उपभोक्ता सबै लाभान्वित भएका छन्,” उनी भन्छन्, “आउटसोर्सिङको काम धेरै भए पनि त्यो दीर्घकालीन भने छैन । लोकल मार्केटिङ नै दीर्घकालीन हुन्छ । समय–समयमा मोडिफाइदेखि अन्य सेवा–सुविधा थपेर पनि काम लिन सकिन्छ तर आउटसोर्सिङमा त्यो प्रायः हुँदैन ।”
शिक्षा तथा स्वास्थ्यमा पनि सफ्टवेयरले प्रयोगकर्तालाई फाइदा पु¥याएको छ । मिदास टेक्नोलोजी प्रालिले शिक्षा र स्वास्थ्यका लागि सफ्टवेयर विकास गरी प्रयोगकर्तालाई सहज बनाएको छ । मिदासले सरकारी पाठ्यक्रमअनुसार नर्सरीदेखि १० कक्षासम्मका विद्यार्थीका लागि श्रव्य–दृश्य सीडी पुस्तक तयार गरेको छ ।
त्यस्तै, बिरामीको नाम, ठेगाना र रोगको प्रकार राखेर तयार गरिएको सफ्टवेयर पनि अस्पताल तथा निजी क्लिनिकमा प्रयोगमा आएका छन् । यस्तो सफ्टवेयरले दैनिक, मासिक र वार्षिक रूपमा बिरामीको संख्या, रोगका प्रकार र उपचारको नतिजा सजिलै उपलब्ध गराउँछ । नेपालकै पुरानो वीर अस्पतालदेखि, कान्ति, नेपाल मेडिकल कलेज, हेल्पकेयरदेखि पोखराको मणिपाल अस्पतालमा पनि मिदासले विकास गरेका सफ्टवेयर प्रयोग भइरहेको छ ।
नेपालमा गोल्छा अर्गनाइजेसनअन्तर्गतको आईटी नेपाल, मर्कन्टाइल, पीसीएस, एन्स सफ्ट, उडान, मिदासले बढी मात्रामा सफ्टवेयर निर्माण गर्दै आएका छन् । रेस्टुराँ, अस्पताल, रिटेल पसल, म्यानपावर कम्पनी, स्कुल, कलेज, सहकारी, बैंक, होटल, एचआरलगायत सबै क्षेत्रले अहिले सफ्टवेयर प्रयोग गरिरहेका छन् ।
 


  • सम्बन्धित समाचार

प्रतिकृया

कुनै प्रतिकृया छैन ।

प्रतिकृया दिनुहोस्