सुन प्रतितोला ६० हजार

मिति: Tuesday,4th September 2012 22:16 PM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com


काठमाडौ, १९ भदौ -  नेपाली बजारमा सुनको भाउ प्रतितोला ६० हजार रुपैयाँ पुगेको छ । मंगलबार २ सय २२ रुपैयाँ महँगो भई सुनले हालसम्मकै उच्च रेकर्ड कायम गरेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।
आइतबार प्रतितोला ५९ हजार ९ सय रुपैयाँ कायम भएको सुन सोमबार १ सय २२ रुपैयाँ सस्तो भई ५९ हजार ७ सय ७८ रुपैयाँमा झरेको थियो ।
संघका महासचिव माणिकरत्न शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा भाउ बढेकाले नेपालमा पनि असर देखिएको हो । अघिल्लो सातादेखि सुनको भाउ लगातार बढिरहेको छ । दुई साता अवधिमा सुन तोलामा करिब ७ हजार महँगो भइसकेको छ ।
शाक्यका अनुसार युरोजोनको आर्थिक संकटका कारण सेयरभन्दा सुरक्षित हुने भन्दै लगानीकर्ताहरू सुनतिर तानिएपछि मूल्य चर्किएको हो । सँगसँगै पेट्रोलियम मूल्य बढ्दा सुन उत्पादन लागतसमेत बढेकाले असर पु¥याएको उनले बताए ।
चाँदी पनि मंगलबार १० रुपैयाँ महँगो भई प्रतितोला १ हजार १ सय ५५ रुपैयाँ पुगेको छ । औद्योगिक क्षेत्रमा चाँदीको माग बढ्दा मूल्य उच्च भएको हो ।
न्युयोर्कस्थित कोमेक्स एक्सचेन्जमा कायम सुनको मूल्यका आधारमा संघले नेपालको दैनिक बजारभाउ निर्धारण गर्छ । अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन ०.३ प्रतिशत वृद्धि भई प्रतिऔंश १ हजार ६ सय ९७ डलर पुगेको छ ।
यसैगरी भारतीय बजारमा पनि सुनको भाउ हालसम्मकै उच्च भएको छ । मंगलबार प्रति १० ग्राम ३१ हजार ८ सय ५० भारुमा कारोबार भएको सञ्चारमाध्यमले जनाएका छन् ।

कारोबार घट्यो
भाउ उच्च भएपछि तीजको सिजन भए पनि गहनाको व्यापार घटेको छ । अहिले दैनिक करिब १५ किलो सुन खपत भइरहेको संघ महासचिव शाक्यले बताए । “अघिल्ला वर्ष तीजका बेला दैनिक ३५ किलो सुन खपत हुन्थ्यो,” उनले भने, “अहिले नयाँ गहना अर्डर कम छ, पुराना गहनाबाट नयाँ डिजाइनका गहना बनाउने भने बढेका छन् ।”
 

  • सम्बन्धित समाचार
Comments