एप्स संसार

वर्ग: अर्थरंग
मिति: Thursday,30th August 2012 04:04 AM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com

Nameमोबाइलको स्क्रिनमा अब थम्ब (बुढीऔंला)को एक्लो प्रभुत्व रहेन, सलल बग्ने चिल्ला स्क्रिनमा इन्डेक्स (चोरऔंला)को पनि उत्तिकै बोलवाला छ । ३ इन्चका मोबाइलदेखि १० इन्चका ट्याबलेटका कुनाकुनामा चोरऔंला सर्दैछ, लाग्छ– संसार एउटा औंलाको पछाडि कुदेको छ ।
आइफोन र स्मार्ट फोन प्रयोग गर्नेको संख्या बढ्दै गएपछि मोबाइल प्रयोगको मानौं युग नै फेरिएको छ । प्रतीक्षालयमा बस कुरिरहेका यात्रु हुन् या बसमै यात्रा गरिरहेका यात्रु, लामो लाइनमा उभिएका व्यक्तिहरू पनि मोबाइल र ट्याब्लेटका स्क्रिनमा औंला दगुराउँछन् । कतिखेर दायाँ पल्टाउँछन्, कतिखेर वायाँ ढल्काउँछन् । औपचारिक कार्यक्रम समयमै सुरु नहुँदा बोर भएर बस्नेहरू हुन् या कसैले समय दिएर भेट्न बोलाउँदा कुर्नेपर्ने अवस्था, एकटक आँखा गाडेर रमाउनेहरू बग्रेल्ती देखिन्छन् । अर्थ हो– मोबाइल अब ‘हेलो’मा मात्रै खुम्चिएको छैन । लाखौं उपयोगी एप्स (एप्लिकेसन्स)को उपस्थितिले मोबाइललाई बहुआयामिक र बहुपयोगी बनाइदिएका छन् ।
गोंगबुकी श्रेया पुन लन्डन बस्ने दाजु तेजिनसँग अहिले घण्टौं कुरा गर्छिन् । सामसुङको ग्लालेक्सी मोबाइल बोक्ने पुनले मोबाइलबाटै कुराकानी गरे पनि ब्यालेन्स सकिँदैन । “भाइबर एप्लिकेसन चलाएर निःशुल्क कुराकानी गर्छौं,” भन्छिन्, “जीपीआरएस प्रयोग गरेबापत अति थोरै पैसामात्र काटिन्छ, भाइबरले धेरै सजिलो भयो ।” उनले लन्डनबाहेक अमेरिका, कोरिया तथा अस्ट्रेलिया रहेका आफन्त तथा साथीहरूसँग पनि भाइबरबाट कुराकानी गर्छिन् ।
Nameत्रिभुवन विश्वविद्यालयमा अंग्रेजी साहित्य लिएर स्नातकोत्तर गर्दै गरेका शैलेश श्रेष्ठ मोबाइल एप्सको भरपुर उपयोग गर्छन् । थेसिस लेख्दै गरेका श्रेष्ठले ओपेरा मिनी खोल्दै आवश्यक कन्टेन्ट जुटाउँछन् । नोकिया एक्स टु प्रयोग गर्ने श्रेष्ठ भन्छन्, “च्याटिङदेखि रिमाइन्डरसम्मका एप्स प्रयोग गर्छु, तर मेरा लागि अक्सफोर्ड डिक्सनरी उपयोगी भएको छ ।”
बजारमा ठूला–साना दुवै बजेटका मोबाइल तथा ट्याब्लेट उपलब्ध हुन थालेपछि थरीथरीका एप्स प्रयोग गर्नेहरू दिन दुईगुणा, रात चौगुणा बढेका छन् । एप्पलको आइफोन र एन्ड्रोइड अपरेटिङ सिस्टमका स्मार्टफोनबाहेक साधारण मोबाइलमा हुने एप्ससम्मको मज्जा लुट्ने हरेक पुस्ता आफ्नै तरिकाले रमाउँछ ।
होटल व्यवसायी निलेश राजभण्डारी आफ्नो ग्यालेक्सी एसटुमा जीपीएस, एन लोकेटदेखि क्विक अफिससम्मका एप्स प्रयोग गर्छन् । तुलनात्मक रूपमा फेसबुक नै बढी चलाउने उनले होटलको अकुपेन्सी कति छ, कति बुक भयो र कति खाली भयो भन्ने विषयमा बाहिरै भए पनि अपडेट भइराख्छन् । ओपेरा मिनीबाट होटलको वेबसाइट खोलेपछि उनलाई अवस्था तुरुन्त थाहा हुन्छ ।
निश्चित अपरेटिङ सिस्टम (ओएस)बाट चल्ने मोबाइल÷ट्याब्लेटमा विभिन्न कम्पनीले आ–आफ्नै एप्स सुविधा दिएका हुन्छन् । कतिपय एप्स निःशुल्क हुन्छन् भने कतिमा पैसा तिर्नुपर्ने हुन्छ । माइक्रोसफ्ट, एप्पल, गुगल, ब्ल्याकबेरीजस्ता विश्वव्यापी प्रविधि कम्पनीले आ–आफ्नै अपरेटिङ सिस्टम बनाएका छन् । माइक्रोसफ्टको विन्डोज, एप्पपको आईओएस, गुगलको इन्ड्रोइड र ब्ल्याकबेरी अपरेटिङ सिस्टम विश्वव्यापी चल्तीमा छन् । यीमध्ये एन्ड्रोइड ओपन सोर्समा आधारित ओएस हो । नाम कहलिएका कम्पनीले अहिले एन्ड्रोइडमै मोबाइल÷ट्याब्लेट डिजाइन गर्न थालेका छन् । जबकि एप्पल र ब्ल्याकबेरीका निश्चित सेट हुन्छन् । एन्ड्रोइड साझा भएपछि अरु कम्पनीलाई फाइदा भएको छ । अहिले नोकियाले पनि विन्डोज ओएस प्रयोग थालेको छ ।
यी सेवाप्रदायकका आ–आफ्नै एप्स डाउनलोड सेन्टर छन् । एप्पलको एप्स स्टोर, एन्ड्रोइडको प्ले.गुगल, नोकियाको ओभीआई स्टोर, ब्ल्याकबेरीको एपवल्र्डबाट रुचिअनुसारका एप्स डाउनलोड गर्न सकिन्छ ।
विभिन्न अनलाइनका अनुसार सबैभन्दा बढी गेम एप्स डाउनलोड हुने गरेका छन् । मोबाइल प्रयोगकर्तामध्ये ६५ प्रतिशतले गेम एप्स प्रयोग गर्ने गर्छन् । यो विश्व परिवेशको तथ्यांक हो । नेपालमा भने सामाजिक सञ्जाल फेसबुक बढी प्रयोग हुनेमा पर्छ । दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार नेपालमा जीपीआरएस प्रयोगकर्ताको संख्या साउनसम्म ४६ लाख ५७ हजार १९ पुगेको छ । सामाजिक सञ्जालको तथ्यांक राख्ने सोसलब्याकर्सका अनुसार नेपालमा फेसबुक प्रयोगकर्ताको संख्या १७ लाख ७७ हजार २ सय छ । गत तीन महिनायता ३ लाख २ सय ६० प्रयोगकर्ता बढेका हुन् । जीपीआरएस प्रयोगकर्तामध्ये अधिकांशले फेसबुक एप् चलाउँछन् ।
त्यस्तै, स्काइप, इबड्डी, मिग, याहु, विन्डोज म्यासेन्जर प्रयोग गर्ने पनि उस्तै बढिरहेका छन् । एप्पलको स्टोरमा रहेका ३ लाख र एन्ड्रोइडका २ लाखभन्दा बढी एप्समध्ये तपाईं जे खोज्नुस्, पाउनुहुन्छ– कतिपय निःशुल्क, कति पैसा तिरेर ।

विभिन्न सञ्चारमाध्यमले मोबाइलमा प्रयोग गर्नेका लागि एप्स तयार गरिरहेका छन् । तपाईं बैंकिङ, स्वास्थ्य, मौसम, गेमलगायत सबै कुरा एप्समा पाउन सक्नुहुन्छ । नेपाली सफ्टवेयर कम्पनीहरूले पनि नेपालका लागि उपयोगी एप्स तयार पारेका छन् । त्यस्तैमध्येका हुन्– नेपाली पात्रो, एन लोकेट, लोडसेडिङ, बत्तीगयो आदि । यी एप्सले नेपाली तिथिमिति, काठमाडौंका सुविधा, लोडसेडिङ तालिकाबारे जानकारी दिन्छन् ।

केही उपयोगी तथा चलनचल्तीका एप्स
ब्राउजर : ओपेरा मिनी, फायरबक्स, क्रोम, डल्फिन
इमेल : आईएम, ह्वाट्सएप, भाइबर, स्काइप, ट्यांगो, निमबज
लोकेसन : गुगल म्याप्स, गुगल स्काई म्याप, गोगल्स
अफिस : क्विक अफिस
फाइल ब्राउजर : एस्ट्रो, ईएस फाइल एक्सप्लोरर
क्यामरा :क्यामरा इफेक्ट, नेत्रो क्यामरा, पेपर क्यामरा
फोटो एडिटर : फोटोसप, एक्सप्रेस, कलर टुयुनर
ई–बुक रिडर : वाटप्याड, अल्डिको, मुनप्लस रिडर, प्लेबुक, गुगल रिडर
डिक्सनरी : म्यारियम वेबस्टार, अक्सफोर्ड
सोसल नेटवर्क : फेसबुक, ट्विटर, इन्स्टाग्राम, गुगल प्लस
गेम : एङ्ग्री बर्ड, टेम्पल रन, कट द रोप, फिफा टेन, फास्ट फाइभ एचडी, जिटी रेसिङ, १०० फ्लोर
म्यानेजम्यान्ट : एक्सप्रेस, सपिङ लिस्ट
मिडिया : यूट्युब, टुयुन इन रेडियो, क्यूक्यू प्लेयर
अन्य ; नेपाली पात्रो, एड्भान्स टास्क किलर, लुकआउट, विभिन्न एन्टी भाइरस, बारकोड÷क्यूआर स्क्यानर, फ्ल्यासलाइट, ड्रपबक्स, गुगल ड्राइभ
 


  • सम्बन्धित समाचार

प्रतिकृया

कुनै प्रतिकृया छैन ।

प्रतिकृया दिनुहोस्