इजरायलले ८० हजार कृषि कामदार लिने

मिति: Tuesday,3rd July 2012 22:16 PM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com

काठमाडौं, १९ असार- इजरायलले कृषि क्षेत्रमा ८० हजार नेपाली कामदार लिने भएको छ । “दुई देशका सरकारले यसका लागि संयन्त्र बनाइरहेका छन्,” इजरायली राजदूत खनान गोडेरले कारोबारसँग भने ।
कामदारलाई पाँच वर्षको प्रवेशाज्ञा (भिसा) दिइने उनले बताए । “यो नेपाली कामदारका लागि आकर्षक अवसर हुनेछ,” गोडेरले भने ।
यसअघि इजरायलले नेपालबाट घरेलु कामदार लैजाने गरेको थियो । प्रक्रियामा अनियमितता भएपछि इजरायलले नेपाली कामदार लिन रोक लगाएको थियो । यो समस्या सम्बोधन गर्न नेपालले निर्देशिका तयार गर्ने प्रतिबद्धता जनाएको थियो । दुई वर्षयता इजरायल नेपाली कामदारका लागि फुकुवा भए पनि जाने प्रक्रिया सहज नभएको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बलबहादुर तामाङले बताए ।
“कामदार पठाउने प्रक्रियामा अनियमितता भएपछि हामीले बीचमा यो प्रक्रिया नै रोक्नुप¥यो,” राजदूत गोडेरले भने, “म्यानपावर कम्पनीले माग नै नभएका ठाउँमा पनि जथाभावी कामदार पठाइँदिदा समस्या भएको थियो ।”
इजरायल घरेलु कामदारका रूपमा नेपालीको श्रम गन्तव्य हो । त्यहाँ अहिले ८ हजार नेपाली कामदार छन् । कामका लागि बिदेसिनले पठाउने रेमिट्यान्स विदेशी मुद्रा आर्जनको ठूलो स्रोत हो । रेमिट्यान्सकै कारण प्रमुख आर्थिक सूचक सकारात्मक भएका छन् ।
तामाङका अनुसार स्थानीय एजेन्सी र नेपाली म्यानपावर एजेन्टले अधिक रकम लिएपछि इजरायल पठाउन रोक लागेको थियो । “इजरायल जान ७५ हजारदेखि १ लाख रुपैयाँ लाग्नेमा ५–६ लाखसम्म उठाइएको थियो,” तामाङले भने ।
दुई देशबीच सरकारी तहमा बन्न लागेको संयन्त्रले इजरायली स्थानीय एजेन्सीले सेवा शुल्क घटाउने र नेपाली कामदारका लागि निश्चित शुल्क तोक्ने विश्वास तामाङको छ । “शुल्क तोकेरै सरकारले इजरायल पठाउने म्यानपावर छनोट गर्नुपर्छ,” उनले भने ।
कृषि क्षेत्रमा इजरायल जाने कामदारले मासिक १२ सय अमेरिकी डलर (करिब १ लाख ८ हजार रुपैयाँ) आम्दानी गर्छन् । इजरायलले आधुनिक प्रविधि उपयोग गरी कृषि उत्पादकत्व बढाएको छ । इजरायली अर्थतन्त्रमा कृषि क्षेत्रको हिस्सा बढी छ । “नेपालले पनि कृषि उत्पादकत्व नबढाई अर्थतन्त्रलाई गति दिन सक्दैन,” राजदूत गोडेरले भने ।
इजरायलले नेपालमा औषधि तथा सामुदायिक स्वास्थ्य, कृषि, शिक्षा, सामाजिक सुरक्षा, सामुदायिक विकास, सञ्चारजस्ता विभिन्न क्षेत्रमा तालिम सञ्चालन गर्दै आएको छ ।
 


  • सम्बन्धित समाचार

प्रतिकृया

कुनै प्रतिकृया छैन ।

प्रतिकृया दिनुहोस्