६ महिनामा ३ लाख हवाई पर्यटक
काठमाडौं, १७ असार - चालू वर्ष सन् २०१२ को पहिलो ६ महिनामा हवाई मार्गबाट नेपाल भ्रमण गर्ने पर्यटकको संख्या २ लाख ९४ हजार ४ सय १९ पुगेको छ । यो संख्या गत वर्षको सोही अवधिभन्दा १९.८ प्रतिशतले बढी हो । सन् २०११ को पहिलो छ महिनामा २ लाख ४५ हजार ३ सय ६३ पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१२ को मे महिनामा ९ प्रतिशतले मात्र नेपाल भ्रमण गर्ने पर्यटक संख्यामा वृद्धि भएकोमा जुन महिनामा १६.७ प्रतिशतले वृद्धि भएको छ ।
पर्यटन वर्षमा भएको सकारात्मक प्रचारले सन् २०१२ को सुरुका महिनादेखिनै नेपाल आगमन गर्ने पर्यटकको संख्यामा वृद्धि सुरु भएको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का पूर्वअध्यक्ष रामकाजी कोनेले बताए । “यस वर्ष पर्यटक आगमनमा लगातार वृद्धि भइरहेको तर गत महिना बन्दले गर्दा वृद्धिदर घटेको थियो,” कोनेले भने । नेपाल भ्रमण गर्ने बेमौसममा पनि पर्यटक आगमनदर बढ्नु सकारात्मक रहेको कोनेको भनाइ छ ।
सन् २०१२ को पहिलो छ महिनामा एसियाली मुलुकबाट नेपाल भ्रमण गर्ने पर्यटकको संख्यामा २५.४ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष उक्त मुलुकबाट नेपाल भ्रमण गर्ने पर्यटक संख्या ८६ हजार ९ सय ६५ रहेकामा चालू वर्षमा उक्त संख्या वृद्धि भएर १ लाख ९ हजार ९७ पुगेको छ । त्यस्तैगरी मध्यएसियाली मुलुकबाट नेपाल भ्रमण गर्ने पर्यटक संख्या चालू वर्षको ६ महिनामा ५५ हजार ९ सय २६ पुगेको छ । जुन संख्या गत वर्षको तुलनामा २०.५ प्रतिशतले बढी हो । गत वर्ष सोही अवधिमा उक्त मुलुकबाट ४६ हजार ३ सय ९६ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
पछिल्लो छ महिनामा युरोपियन मुलुकबाट नेपाल भ्रमण गर्ने पर्यटकको संख्यामा १७.६ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष उक्त मुलुकबाट नेपाल भ्रमण गर्ने पर्यटक संख्या ६० हजार ३ सय ८४ रहेकोमा चालू वर्ष ७१ हजार १७ पर्यटकले नेपाल भ्रमण गरेका छन् । त्यस्तैगरी आसियान मुलुकबाट गत वर्ष ८ हजार ३ सय १६ पर्यटकले नेपाल भ्रमण गरेकामा चालू वर्ष उक्त संख्या बढेर ८ हजार ६ सय ८१ पर्यटकले नेपाल भ्रमण गरेका छन् । जुन संख्या गत वर्षभन्दा ४.५ प्रतिशतले बढी हो ।
अमेरिकन मुलुकबाट नेपाल भ्रमण गर्ने पर्यटकको संख्यामा १४.२ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष उक्त मुलुकबाट नेपाल भ्रमण गर्ने पर्यटक संख्या २२ हजार ४ सय १० रहेकामा चालू वर्ष उक्त संख्या बढेर २५ हजार ५ सय ९६ पुगेको छ । त्यस्तैगरी अन्य मुलुकबाट नेपाल भ्रमण गर्ने पर्यटक संख्यामा पनि १३.४ प्रतिशतले वृृद्धि भएको छ । अन्य मुलुकबाट नेपाल भ्रमण गर्ने पर्यटक संख्या गत वर्ष २० हजार ९ सय २ रहेकामा चालू वर्षमा उक्त संख्या वृद्धि भएर २३ हजार ७ सय २ पुगेको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ ।








