घरेलुको महाधिवेशन भदौमा
काठमाडौ, ६ असार- घरेलु तथा साना उद्योग महासंघले आगामी भदौको अन्तिम साता २० औं महाधिवेशन गर्ने भएको छ । गत शुक्रबार बसेको महासंघको केन्द्रीय कार्यकारिणी समिति, केन्द्रीय महिला उद्यमी समिति र केन्द्रीय सल्लाहकार समितिको संयुक्त विस्तारित बैठकले भदौ २६ र २७ मा महासंघको २० औं राष्ट्रिय महाधिवेशन तथा अठारौं राष्ट्रिय महिला उद्यमी सम्मेलन काठमाडौंमा सम्पन्न गर्ने तय गरेको हो ।
बिहीबार महासंघद्वारा आयोजित पत्रकार सम्मेलनमा महासंघकी अध्यक्ष लता प्याकुरेलले मुलुक संक्रमणकालमा गुज्रिरहेको बताउँदै महाधिवेशन अगावै विशेष अधिवेशनद्वारा विधानमा संशोधन गरी महासंघको संघीय स्वरूपको विषय टुंग्याउने बताइन् ।
उनका अनुसार सो महाधिवेशनमा ७२ जिल्लाका जिल्ला अध्यक्ष, सचिव र केन्द्रीय प्रतिनिधिको सहभागिता हुनेछ । यसैगरी ५४ जिल्लाका महिला उद्यमी समितिका सभापति, सचिव र केन्द्रीय प्रतिनिधि र १६ वटा वस्तुगत संघका प्रतिनिधिहरूसमेत गरी ६ सय २६ जना महाधिवेशन प्रतिनिधिहरूको सहभागिता रहने महासंघले जनाएको छ । उक्त महाधिवेशनले आगामी कार्यकालका लागि महासंघको नयाँ नेतृत्व पनि चयन गर्ने प्याकुरेलले जानकारी दिइन् ।
महासंघले औद्योगिक नीति २०६७ ले समेत लघु घरेलु तथा साना उद्योगीको छाता संस्थाका रूपमा स्वीकार गरिसकेको भन्दै सबै तह र स्तरका लघुघरेलु तथा साना उद्योगी व्यवसायीहरूको क्षेत्रमा कार्यरत सम्पूर्ण संघसंस्थाहरूलाई एकीकरणका लागि अपिल गरेको छ । यस्तै प्रत्येक वर्षजसो आयोजना गर्दै आएको राष्ट्रियस्तरको कार्यक्रम यसवर्ष १२ आंै घरेलु उद्योग महोत्सव तथा राष्ट्रिय औद्योगिक प्रदर्शनी आगामी मंसिर २१ देखि २५ गतेसम्म काठमाडौंमा सम्पन्न गर्ने महासंघले निर्णय गरेको छ ।
लगानीबोर्डमा समावेश गर
सरकारले लगानी वर्ष घोषणा गरे पनि निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थालाई समावेश नगराएको भन्दै नेपाल घरेलु तथा साना उद्योग महासंघले आपत्ति जनाएको छ । लगानी वर्ष घोषणाले मात्रै सफल नहुने भन्दै महासंघले घोषित लगानी वर्षलाई सफल बनाउन ठोस कार्ययोजना, निजी क्षेत्रका छाता संस्थाहरूको प्रतिनिधित्वमा लगानी बोर्डको पुनर्संरचना गर्न अनुरोधसमेत गरेको छ ।
महासंघकी अध्यक्ष लता प्याकुरेलले लगानी वर्ष घोषणा गर्दैमा सफल नहुने बताउँदै लगानीको सूचकांक, मापदण्ड तथा ठोस कार्ययोजनाबिना घोषित कार्यक्रम सफल नहुने अवस्था देखिएको बताइन् । उनले भनिन्, “लगानी बोर्डमा निजी क्षेत्रका प्रतिनिधि भनिएका व्यक्तिहरू व्यक्तिगत रूपमा रहनुभएको छ, उहाँहरूको संस्थागत प्रतिनिधित्व छैन ।” उनका अनुसार निजी क्षेत्रको बैठकमा प्रधानमन्त्रीले संस्थागत हिसाबले कसैलाई नराखेको बताएका थिए । उनले भनिन्, “प्रधानमन्त्रीसँगको बैठकमा प्रधानमन्त्री स्वयंले संस्थागत हिसाबले कसैलाई नराखेको बताउनुभयो हाम्रो आपत्ति त्यसमै हो ।”








