तीन सगरमाथा आरोहीको मृत्यु

वर्ग: बिजनेस
मिति: Monday,21st May 2012 23:40 PM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com

काठमाडौं, ८ जेठ  - सगरमाथा आरोहण गरेर फर्कने क्रममा तीन आरोहीको ज्यान गएको छ भने दुई आरोही बेपत्ता भएका छन् । गत शनिबार सगरमाथा आरोहणबाट फर्कने क्रममा ठूलो हावाहुरी चलेपछि पाँच आरोहीमध्ये तीन आरोहीको मृत्यु भएको र बाँकी दुई आरोहीको अवस्था अज्ञात रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ  ।   
सगरमाथा आरोहणमा गएका पाँच आरोहीमध्ये ६२ वर्षीय जर्मनी नागरिक डा. एरिक एभरहार्ड स्काफ, नेपाली मूलका ३३ वर्षीय क्यानाडियन नागरिक श्रीय शाह तथा चिनियाँ नागरिक वेल इ हाँ को  सगरमाथा आरोहणबाट फर्कने क्रममा लडेर मृत्यु भएको हो ।  सगरमाथा आरोहणबाट फर्कने क्रममा कोरियन नागरिक विन सोङ तथा एक आरोही सगरमाथा कै लोत्से क्षेत्रबाट हराइरहेको मन्त्रालयले जनाएको छ ।   
तीन आरोहीमध्ये  जर्मनी नागरिक स्काफ सगरमाथा आरोहण गरेर फर्कने क्रममा ८ हजार ७ सय मिटर उचाइबाट लडेर मृत्यु भएको हो । त्यस्तै क्यानाडियन नागरिक शाह र चिनियाँ नागरिक हाँको फर्कने क्रममा ८ हजार ६ सय ५० मिटर उचाइबाट लडेर मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।
सफल सगरमाथा आरोहणपछि फर्कने क्रममा गत शनिबार त्यस क्षेत्रमा हावाहुरी चलेपछि आरोहीहरूको हिमपहिरोमा परी लडेर मृत्यु भएको मन्त्रालयका प्रवक्ता बालकृष्ण घिमिरेले बताए । “अन्य हराएका आरोही दुई जनाको पनि खोजी कार्य जारी छ,” घिमिरेले भने ।  मृतक आरोहीलाई मौसम सफा हुने बित्तिकै काठमाडौं ल्याउने तयारी भइरहेको घिमिरेले जानकारी दिए ।
मृत्यु भएका जर्मनी नागरिक एसियन ट्रेकिङ प्रालिबाट आरोहणका लागि सगरमाथातर्फ गएका हुन् । अन्य दुई मृतक र दुई बेपत्ता आरोही कुन कम्पनीबाट आरोहणका लागि गएका हुन भन्ने खुल्न सकेको छैन । बेपत्ताको खोजीकार्य जारी रहेको ट्रेकिङ कम्पनीले जानकारी दिएको छ । शुक्रबार पनि ७० वर्षीय महिला आरोहीको आरोहणका क्रममा मृत्यु भएको थियो । “उनी पनि एसियन ट्रेकिङबाटै आरोहणका लागि गएकी थिइन,” शेर्पाले भने ।   
चालू वर्ष सन् २०१२ को वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि मात्र ३ सय ९१ वटा समूहले आरोहण अनुमति लिएको पर्यटन उद्योग महाशाखाले जानकारी दिएको छ ।  
   
 

  • सम्बन्धित समाचार
Comments