‘बचत तथा ऋण सहकारी जोखिममा’

वर्ग: बिजनेस
मिति: Monday,2nd April 2012 23:56 PM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com

५५ औं राष्ट्रिय सहकारी दिवस

काठमाडौं, २० चैत
सहकारी विभागका रजिस्टार सुदर्शनप्रसाद ढकालले केही बचत तथा ऋण सहकारी जोखिममा रहेको बताएका छन् । सहकारीबाट ऋण लिएका व्यक्ति नै संस्थाको सञ्चालक भएकाले त्यस्ता संस्थाका बचतकर्ता जोखिममा रहेको उनले बताए ।
“बचतकर्ताको हातमा सहकारी संस्था छैन,” ५५ औं सहकारी दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा रजिस्टार ढकालले भने, “सञ्चालक र व्यवस्थापक संस्थाबाट कमाउन लागेका छन् ।” ऋणी सञ्चालक हुँदा उनीहरू संस्था र बचतकर्ताप्रति उत्तरदायित्व नभएको उनको आरोप थियो ।
सहकारी संस्थालाई व्यावसायिक र प्रजातान्त्रिक ढंगले चलाउन समस्या भएको  उनले उल्लेख गरे । सदस्यहरू सक्रिय नभएकाले सहकारी संस्थालाई स्वनियन्त्रणको विधिबाट सञ्चालन गर्न समस्या देखापरेको उनको भनाइ थियो, “संस्था राम्रोसँग चलाउन सदस्य सक्रिय हुनुपर्छ, राष्ट्र बैंक या सरकारले अनुगमन गर्नुपर्दैन”
संयुक्त राष्ट्रसंघको आह्वानमा नेपालले पनि अन्तर्राष्ट्रिय सहकारी वर्ष–२०१२ मनाइरहेकाले यसको निर्देशन बमोजिम सहकारीको पहुँच बढाउन र सबैलाई सहकारीको छातामुनि गोलबद्वका लागि भूमिका खेल्न ढकालले आग्रह गरे । राष्ट्रसंघले सहकारीलाई गरिबी निवारण, रोजगारी सिर्जना, आर्थिक विकास र सामाजिक एकीकरणका लागि उपयुक्त विधि भएकाले मान्यता दिएको उनले बताए । सोहीअनुसार सहकारी विस्तारका लागि आवश्यक नीति नियम र एन कानुनका लागि सरकारलाई दबाब दिनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी बैंकका प्रबन्ध सञ्चालक केबी उप्रेतीले सहकारीलाई संयुक्त रूपमा ठूला आयोजनाका साथै  विभिन्न क्षेत्रमा लगानी गर्न समस्या भएको गुनासो गरे ।
“सहकारी संस्था मिलेर संयुक्त रूपमा लगानी गर्नमा अझै पनि समस्या छ, उनले भने, “सहकारी मापदण्डका साथै उद्योग, विद्युत्, शिक्षालगायतका ऐन संशोधन गरेर सबै क्षेत्रमा सहकारी जान पाउने बाताबरण सिर्जना गर्नुपर्छ ।”
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका सञ्चालक परितोष पौड्यालले सहकारीहरू मिलेर ४ मेगावाटसम्मको हाइड्रोमा लगानी गर्न लागेको जानकारी दिए । ६० प्रतिशत सरकारको र ४० प्रतिशत सहकारीको लगानी रहेको योजनामा राष्ट्र बैंकले सहुलियत ब्याजदरमा कर्जा दिने सहमति भइसकेको उनको भनाइ थियो ।
कार्यक्रममा राष्ट्रिय सहकारी संघकी सञ्चालक ओमदेवी मल्ल जोशी, डिभिजन सहकारी कार्यालय काठमाडौंका प्रमुख केशवबहादुर थापा, सितापाइला बहुद्देश्यीय सहकारीका अध्यक्ष केदार मानन्धरलगायतका सहकारीकर्मीले बोलेका थिए ।
कार्यक्रममा अवसरमा डिभिजन सहकारी कार्यालय काठमाडौंले सीतापाइला बहुद्देश्यीय सहकारी संस्था तथा थानकोट महिला जागरण बचत तथा ऋण सहकारीलाई प्रशंसापत्र प्रदान गरिएको थियो । यसैगरी सीतापाइला क्षेत्रका सहकारीले कोल्डस्टोर सञ्चालन, बाख्रपालन, गाईपालनलगायतका योजनासमेत सार्वजनिक गरेका थिए ।
भैरहवा संवाददाताका अनुसार रूपन्देहीका सहकारी संस्थाले गत पुससम्म ३ अर्ब ७७ करोड  बचत संकलन गरेका छन् । सो अवधिसम्म ५ अर्ब २९ करोड  ९१ लाख ५ हजार  ६ सय १५ रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेको जिल्ला डिभिजन सहकारी कार्यालय रूपन्देहीले जनाएको छ । जिल्लामा सक्रिय ६ सय ४० सहकारीमध्ये  बचत तथा ऋण सहकारी गरी ३ संस्थाले उक्त बचत रकम संकलन गरेका हुन् ।
झापा संवाददाताका अनुसार जिल्लामा उत्पादन सहकारीप्रति आकर्षण बढेको छ । चालू आर्थिक वर्षमा स्थापना हुने सहकारी संस्थाहरू बचत तथा ऋणभन्दा बढी उत्पादन सहकारी दर्ता भएको डिभिजन सहकारी कार्यालयका प्रमुख डिभिजन प्रमुख नेत्र घिमिरेले जानकारी दिए ।
राष्ट्रिय सहकारी बैंक सिमराका अध्यक्ष कृष्ण पौडेलका अनुसार बाराको कलैयामा पनि हजारौं सहकारीकर्मीको सहभागितामा ¥याली तथा कोणसभा गरिएको छ । कार्यक्रममा जिल्लामा उत्कृष्ट कारोबार गर्ने डुमरवाना दुग्ध उत्पादक सहकारी संस्थालगायतलाई पुरस्कृत गरिएको जनाइएको छ ।



 


  • सम्बन्धित समाचार

प्रतिकृया

कुनै प्रतिकृया छैन ।

प्रतिकृया दिनुहोस्